सुशान्तको आत्महत्याको एक महिना : दुवै पूर्वप्रेमिकाले सञ्जालमा सम्झना पोखे

एजेन्सी :   अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या भएको एक महिना पूरा भएको छ । जुन १४ मा अभिनेता सुशान्तले बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेका थिए ।
सुशान्तले संसार छोडेको दिन सम्झिँदै उनकी पूर्वप्रेमिका अंकिता लोखन्डे र रिया चक्रवर्तीले सुशान्तलाई सम्झिएका छन् ।

उनीहरूले सामाजिक सञ्जालमार्फत् सुशान्तप्रति सम्झना व्यक्त गरेका हुन् ।

टेलिशृङ्खला ‘पवित्र रिश्ता’ बाट प्रेममा परेकी अंकिताले इन्स्टाग्राममा एउटा फोटो पोस्ट गरेकी छन् । उनले आफ्नो पूजा घरमा एउटा दियो बालेर त्यसको वरिपरि सेतो फूलले सजाएकी छन् । फोटोको क्याप्सनमा लेखेकी छन्, “चाइल्ड अफ गड’ ।

अंकिता एकमहिनापछि सामाजिक सञ्जालमा पुनः फर्किएकी हुन् । अंकिताको यो पोस्टमा उनका फलोअर्सले उनलाई बलियो बन्न कामना गरेका छन् ।

सुशान्तकी पछिल्लो प्रेमिका रिया चक्रवर्तीले पनि सुशान्तलाई सम्झिँदै सुशान्तसँगको फोटो इन्स्टाग्राममा सेयर गरेकी छन् । अंकितासँग सन् २०१६ मा ब्रेकअप भएपश्चात् सुशान्त र रिया चक्रवर्तीसँग सम्बन्धमा बसेका थिए ।

रियाले सुशान्तसँगको २ वटा मायालु फोटो सेयर गर्दै सुशान्तले मायामा विश्वास गर्न सिकाएको भन्दै लामो क्याप्सन लेखेकी छन् । साथै उनले लेखेकी छन्, “मलाई थाहा छ तिमी अहिले सबैभन्दा शान्त ठाउँमा छौं । तारा, चन्द्रमा र ग्यालेक्सीहरूले तिमीलाई न्यानो स्वागत गरे होलान् ।”

अन्तमा उनले लेखेकी छन्, “तिमीलाई गुमाएको ३० दिन भएको छ, तर तिमीलाई जिन्दगीभरि माया गरिरहने छु ।” सुशान्त प्रेमिका रियासँग रोमान्टिक कमेडी चलचित्रमा सँगै देखिन लागेका थिए । सुशान्तको आत्महत्याको केही दिन अघिसम्म पनि रिया सुशान्तसँगै अपार्टमेन्टमा भएको र झगडा भएर केही दिनका लागि साथीकोमा बस्न गएको रियाले स्वीकारेकी थिइन् ।

यो एक महिनामा सुशान्तको आत्महत्या प्रकरणले बलिउड तथा सामाजिक सञ्जालमा धेरै उथलपुथल भइसकेको छ । उनको आत्महत्याको कारणबारे प्रहरी अझै अनुसन्धानमै छ ।