कलियुगका जनताको भूमि भारतको कब्जामा, त्रेतायुगका राजकुमारको जन्मभूमि खोज्दै प्रधानमन्त्री

काठमाडाैँः सुस्तासहित ७१ ठाउँमा अतिक्रमण मात्र गरेको छैन, सीमा क्षेत्रका दशौँ हजार नेपालीलाई प्रताडित गरेको छ । भारतीय प्रहरीबाट अपहेलित नेपाली जनताको समस्या समाधान भएको छैन, प्रधानमन्त्री केपी ओलीले त्रेता युगका रामको जन्मभूमि नेपाल हो कि भारत भनेर नयाँ बहस जन्माएकाे समाचार नयाँ पत्रिका दैनिकमा किरण दाहालले लेखेका छन् ।

नारायणीपारि सुस्तामा तीन हजार नेपालीको बसोवास छ, तर धेरैसँग लालपुर्जा छैन, जोसँग लालपुर्जा छ तिनको जमिनमा भारतीयले खेती गर्छन् । भारतीय सुरक्षाकर्मीको आडमा सीमापारिका बासिन्दाले नेपालीलाई त्रासमा राखेका छन्, कहिले कुटपिट गर्छन्, कहिले घरमै आगो लगाइदिन्छन् । भारतबाट प्रताडित र नेपालबाट उपेक्षित सुस्ताको जीवन सधैँ आपत्विपत्मा छ ।

सुस्ताका बासिन्दालाई देशको मूलधारसम्म जोड्ने एउटा पुलसमेत छैन । गाउँमा ६ कक्षाभन्दा माथि विद्यालय छैन, प्राथमिक उपचार गर्न हेल्थपोस्टसमेत छैन । उज्यालो बाल्न बिजुली छैन र किनमेल गर्न बजार छैन । यी सबै आवश्यकताका लागि उनीहरू भारतमा निर्भर छन् । तर, तिनै भारतीयले सुस्तावासीको खेतबारी कब्जा गरेका छन्, घरवास उठाउन खोजेका छन् । नेपाल सरकार मौन छ ।

नेपालको लालपुर्जा देखाउँदै सुस्ताका बासिन्दा ओमप्रसाद चौधरी भन्छन्, ‘आफ्नै खेतमा जान पाउँदिनँ, टाढैबाट हेरेर फर्कन्छु, एकैठाउँमा १५ जनाको ५७ बिघा जमिन छ । लालपुर्जा हामीसँगै छ, तर आफ्नै खेतमा जान पाउँदैनौँ । नम्बरी जग्गा हो, अहिले चौर भएको छ । कुनै दिन त्यो भूमि हाम्रै होला भन्ने आशा छ । नजिक जान त सक्दिनँ, टाढैबाट हेरेर फर्कन्छु ।’