बाग्मती प्रदेशमा ५२ प्रतिशत रोपाइँ सकियो,चितवनमा १२ हजार ८७० हेक्टर क्षेत्रफलमा रोपाइँ

हेटौंडा :  असारको अन्तिम सातासम्म बाग्मती प्रदेशमा ५२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।बाग्मती प्रदेशको वर्षे धान बाली हुने कुल क्षेत्रफल एक लाख ३४ हजार २३८ हेक्टरमध्ये ७० हजार ७३ हेक्टर अर्थात् ५२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । बाग्मती प्रदेश भूमि व्यवबस्था, कृषि तथा सहकारी मन्त्रालयले हालसम्म प्रतिशतका दृष्टिले सबैभन्दा बढी ललितपुर, भक्तपुर, काठमाडौं र दोलखामा रोपाइँ गरिएको जनाएको छ । मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले कोरोना भाइरस सङ्क्रमण जोखिमको त्रासले रोपाइँ प्रभावित भएको छ र असार सकिँदासम्म रोपाइँ भएको क्षेत्रफल बढ्ने बताए ।

११ हजार हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने मकवानपुरमा हालसम्ममा चार हजार चार सय हेक्टर अर्थात् ४० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । उता प्रदेशमा सबैभन्दा बढी क्षेत्रफलमा धान खेती हुने चितवन जिल्लामा ४५ प्रतिशत भागमा मात्र रोपाइँ सम्पन्न भएको छ । चितवनमा २८ हजार छ सय हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने गरेकामा हालसम्म १२ हजार ८७० हेक्टर क्षेत्रफलमा रोपाइँ पूरा भएको छ ।

रोपाइँको समयमा हरेक वर्ष कृषकले मल र बीउको समस्या खेप्दै आएकामा सो क्रमले यो वर्ष पनि निरन्तरता पाएको छ । बाग्मती प्रदेशको रसुवामा असारे धान हुने सबैभन्दा कम क्षेत्रफलले ढाकेको छ भने यो वर्ष हालसम्म सबैभन्दा कम प्रतिशत रोपाइँ सिन्धुली जिल्लामा भएको छ ।

यसैगरी नुवाकोटमा १४ हजार पाँच सय हेक्टरमध्ये छ हजार ९६० हेक्टरमा, रसुवामा एक हजार ९३ हेक्टरमध्ये ४४८ हेक्टरमा, ललितपुरमा चार हजार छ सय हेक्टरमध्ये चार हजार १४० हेक्टरमा र भक्तपुरमा चार हजार तीन सय हेक्टरमध्ये तीन हजार ७४१ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । आजको गोरखापत्रमा समाचार छापिएको छ ।