डिएसपी मुकुन्दको एक्सन : एक लाख ४४ हजार भारतीय नक्कली नोटसहित तीन प्रहरी फन्दामा

झापा : एक लाख ४४ हजार भारतीय नक्कली नोटसहित झापामा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्काई नगरपालिका– ३ का ४३ वर्षीय मौसम श्रेष्ठ, कन्काई–४ का २८ वर्षीय खुर्सैद आलम र झापा गाउँपालिका– ५ का २४ वर्षीय एराजुल हक छन् । इलाका प्रहरी कार्यालय अनारमनीले उनीहरूलाई पक्राउ गरी आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले भारतीय पाँच सय दरका दुई सय ८८ वटा नक्कली नोट र नेपाली सक्कली नोट २० हजार पाँच सय पनि फेलापारेको छ । ती नोट हेर्दा नै नक्कली भन्ने छुटिने इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

‘सक्कली नोटभन्दा धेरै फरक छ । छाम्दा पनि बाक्लो छ । रंग पनि फरक छ । फेरि एउटै नम्बरका नोट ८–१० वटा छन्,’ उनले भने, ‘यो नोट हामी प्रहरीको विधि विज्ञान प्रयोगशालामा पनि परीक्षणका लागि पठाउँछौँ । पक्राउ परेकालाई अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेका छौँ ।’ पक्राउ परेकामध्ये श्रेष्ठ सुनपसले हुन् । आलमले ती नोट हकबाट लिई श्रेष्ठसँग साटेका थिए । गोप्य सूचनाका आधारमा प्रहरीले उक्त रकम श्रेष्ठको घरबाट बरामद गरेको हो ।

लकडाउनको समयमा पनि भारतीय नक्कली नोट बजारमा फेलापरेपछि गिरोह नै सक्रिय भएको हुन सक्ने प्रहरीको आशंका छ । यसतर्फ पनि गम्भीर रूपमा अनुसन्धान भइरहेको डिएसपी रिजालले बताए । ‘यति ठूलो रकम कहाँ कारोबार गर्थे भन्ने पनि शंकाको विषय हो । यसमा हामीले उनीहरूको बयन लिइरहेका छौँ,’ उनले भने । पक्राउ परेका तीनैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।