पत्रकार अधिकारीद्वारा विवाह खर्च कटाएर कोरोना कोषमा सहयोग

चितवन :  पत्रकार दीपेन्द्र अधिकारीले चितवनको इच्छाकामना गाउँपालिकाको कोरोना कोषमा आर्थिक सहयोग गर्नुभएको छ ।  नयाँपत्रिका र चितवन पोष्ट दैनिकमा कार्यरत अधिकारीले विवाह खर्च कटाएर कोरोना कोषका लागि रु एक लाख सहयोग गर्नुभएको हो ।
सामाजिक दुरी कायम गर्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्साललाई आइतबार १ लाख नगद हस्तान्तरण गर्नुभएको हो । नगद हस्तान्तरण गर्दै पत्रकार अधिकारीले कोरोना रोकथामका लागि लागु गरिएको बन्दाबन्दीका कारण दैनिक जीवन गुजारा चलाउन गाह्रो भएका विपन्न मजदुर वर्गका लागि केही राहत मिलोस् भन्ने उदेश्यले सहयोग हस्तान्तरण गरिएको बताउनुभयो । अधिकारीले विवाहको भोजका लागि छुट्याइएको रकम सहयोग गरेको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले यस्तो अवस्थामा विवाहमा ठूला भोज आयोजना नगरि भोजमा छुट्याइएको रकम विपन्न मजदुर वर्गका लागि सहयोग गर्नुभएकोमा धन्यवाद दिनुभयो । विवाहमा तामझाम र ठुला भोजभतेर भन्दा पनि सामाजिक काममा सहयोग गर्नुपर्छ भन्ने सन्देश दिएको बताउदैँ वैवाहिक जीवनको सफलताको शुभकामना दिनुभयो । उहाँले उक्त रकम कोरोना रोकथाम र विपन्न मजदुर वर्गका लागि खर्चिने बताउनुभयो ।
इच्छाकामनाका स्थानीयवासी समेत रहनुका अधिकारी गत असार १४ गते कालिका नगरपालिका –९ की सिर्जना भण्डारीसँग वैवाहिक बन्धनमा बाँधिनुभएको थियो ।