एक महिनामा बाढी पहिरोबाट ८८ जनाको मृत्यु

काठमाडौं :  गएको एक महिनामा बाढी र पहिरोको प्राकृतिक विपत्तीमा परी ८८ जनाको मृत्यु भएको छ ।बाढी तथा पहिरोजन्य घटनामा परी अझै ३२ जना बेपत्ता रहेका छन् । जेठ ३० गतेदेखि आजसम्म विभिन्न १९ जिल्लामा बाढी र पहिरोमा परी ८८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

जस अनुसार सबैभन्दा धेरै म्याग्दीमा हिजो गएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ । त्यहाँ अझै चार जना हराइरहेका छन् । सिन्धुपाल्चोकमा गएको पहिरोमा तीन जनाको मृत्यु भएको छ । अझै २० जना बेपत्ता रहेका छन् । जाजरकोट पहिरोमा परी नौ जनाको मृत्यु भएको छ । छ जना अझै बेपत्ता छन् । आजको गोरखापत्रमा समाचार छापिएको छ ।