कोरोना भाइरस पूर्णरुपमा अन्त्य गर्न सकिँदैन : विश्व स्वास्थ्य संगठन

जेनेभा : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस राेग (कोभिड-१९) पूर्णरुपमा अन्त्य नहुने बताएको छ । संगठनका आकस्मिक परियोजना प्रमुख डाक्टर माइक रायनले कोभिड-१९ भाइरस पूर्णरुपमा निर्मुल नहुने देखिएको जानकारी दिनुभएकाे हाे।

जेनेभामा शुक्रबार भएको भर्चुअल सम्मेलनमा उहाँले भन्नुभयाे, ‘अहिलेको स्थितिलाई हेर्दा यो भाइरसलाई पूर्णरुपमा अन्त्य गर्न सकिँदैन। जहाँ बढी प्रभाव परेको छ, त्यहाँ यसलाई फैलनबाट रोक्न सक्नुपर्छ, दोस्रो लहर आउन दिनु हुँदैन।’

कोरोना नियन्त्रण गर्न लकडाउन थप गर्न आवश्यक रहेको उहाँको ठहर छ । प्रभावकारी लकडाउन गर्न सफल नभएका र लकडाउन खोल्न हतार गरिएका मुलुकमा महामारी धेरै फैलिएको विश्व स्वास्थ्य संगठनको दाबी छ ।