देशको सुरक्षा जिम्मा थापा त्रिमुर्तिको काँधमा !

काठमाडौँ:  नेपाली इतिहासमा थापाहरुको विरासत निक्कै महंगो र अनुकरणीय छ। वीर भक्ति थापा, अमरिसिंह थापादेखि आजको दिनसम्म आइपुग्दा देशको गृहमन्त्री जस्तो शक्तिशाली र संवेदनशिल पदमा रामबहादुर थापा बिराजमान छन्।

त्यस्तै कुनै पनि देशको शक्ति भनेको आर्मीसँग जोडेर हेरिन्छ। नेपाली सेनाको कमाण्डर पनि थापा थरका छन्। प्रधानसेनापति पूर्णचन्द्र थापाले शैनिक फोर्सको कमाण्डिङ गरिरहेका छन्।

कुरा त्यति मात्र कहाँ हो र ? नेपाली जनताको साथी, राष्ट्रसेवकको महत्वपूर्ण खम्बा हो नेपाल प्रहरी। जसको नेतृत्वमा हालै सरकारले शैलेश थापालाई नियुक्त गरेको छ। प्रहरी प्रमुखको जिम्मेवारीमा थापाले बिहिबारदेखि कार्यभार सम्हालेका छन्।

सुरक्षा क्षेत्रभन्दा बाहिरका दृश्यहरुमा पुगेर हेर्ने हो भने यत्रतत्र थापाहरु शक्तिशाली र चर्चामै देखिन्छन्। वर्तमान समयमा कमल थापा, गगन थापाहरुको पनि कम चर्चा छैन। त्यस्तै चलचित्र जगतमा रेखा थापाहरु सर्वाधिक चर्चामा छन्। त्यस्तै फूटबलको क्षेत्रमा सागर थापाकाे चर्चा हुन्छ। जे होस् थापाथरीले यो देशको मुहार बदल्न र मानसम्मानको लागि ठूलो योग्दान दिएका छन्।

प्रहरी प्रमुख थापालाई गृहमन्त्री थापा र सेनापति थापाद्वारा बधाई

गृहमन्त्री रामबहादुर थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए। बिहिबार गृहमन्त्रालयमा भएको एक कार्यक्रममा गृहमन्त्री थापाले महानिरीक्षक क्षेत्रीको कार्यकाल शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्न उत्कृष्ट हुने विश्वास व्यक्त गरेका थिए।

त्यस्तै शुक्रबार प्रधानसेनापति थापाले नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई बधाइ एवम् शुभकामना र्दिएका छन्। प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा शुक्रबार भेटगरी नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नेपाल सरकारद्वारा नियुक्ति भएकोमा सफल कार्यकालको शुभकामनासहित बधाइ दिएका हुन्।

भेटघाटका अवसरमा प्रधानसेनापति थापा र प्रहरी महानिरीक्षक थापा क्षेत्रीबीच दुबै संगठनबीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफलसमेत भएको थियो।

प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई अनुभव र ज्ञानको संगालो रहेका पुस्तकहरू र राष्ट्रको सुरक्षाको संकेतको रुपमा रहेको राष्ट्रिय हतियार खुकुरीसमेत प्रदान गरेका छन्। उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रधानसेनापति थापालाई मायाको चिनो स्वरूप ‘मोमेन्टो’ प्रदान गरे।