नेप्सेमा ७५ अंकको सुधार, लगानीकर्ताको सम्पत्ति ९९ अर्बले बढ्यो

काठमाडाैँ :  साताभर सेयर बजार परिसूचक नेप्से ५‍.९७ प्रतिशतले बढेको छ । साातमा पाँच दिनै कारोबार भएको बजारमा नेप्से परिसूचक चारदिन बढ्दा एक दिन भने घटेर बन्द भएको थियो । गत साता १२५६.११ अंकमा बन्द भएको बजार परिसूचक नेप्से यो साता ७४.९९ अंकले बढेर १३३१.१० अंकमा पुगेर बन्द भएको छ ।

सातभर नेप्सेमा १९७ कम्पनीको सेयर किनबेच हुँदा पाँच अर्ब १६ करोड दुई लाख रुपैयाँको कारोबार भएको छ । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से ९.३५ अंकले बढेर १२६५.४६ अंकमा बन्द भएको थियो भने बजारमा १७२ कम्पनीको २८ लाख ६ हजार ८९८ कित्ता सेयर किनबेच हुँदा एक अर्ब तीन करोड ३३ लाख ९० हजार रुपैयाँबराबरको कारोबार भएको थियो ।

यस्तै साताको दोस्रो दिन पनि सेयर बजार परिसूचक नेप्से बढेको थियो । सोमबार बजार परिसूचक नेप्से ३३.२७ अंकले बढेर १२९८.७३ अंकमा बन्द भएको थियो । उक्त दिन नेप्सेमा १७६ कम्पनीको २७ लाख ३१ हजार ४९८ कित्ता सेयर किनबेच हुँदा ९२ करोड ७८ लाख ४१ हजार रुपैयाँबराबरको कारोबार भएको थियो । लगातार तेस्रो दिन मंगलबार पनि बजार परिसूचक बढेको थियो । मंगलबार नेप्से ३७।३९ अंकले बढेर १३३६.६६ अंकमा बन्द भएको थियो । उक्त दिन नेप्सेमा १७८ कम्पनीको २८ लाख ८३ हजार ९४८ कित्ता सेयर किनबेच हुँदा एक अर्ब २१ करोड २४ लाख २६ हजार रुपैयाँबराबरको कारोबार भएको थियो ।

साताको चौथो दिन बुधबार भने बजारमा सामान्य करेक्सन देखिएको थियो । बुधबार बजार परिसूचक नेप्से १०.१३ अंकले घटेर १३२६.५४ अंकमा बन्द भएको थियो । उक्त दिन बजारमा १७९ कम्पनीको २९ लाख ७७ हजार ७०६ कित्ता सेयर किनबेच हुँदा एक अर्ब सात करोड ८४ लाख २६ हजार रुपैयाँबराबरको कारोबार भएको थियो । तर साताको अन्तिम दिन बिहीबार भने बजार परिसूचक नेप्सेमा सामान्य सुधार भएर बन्द भयो । शुक्रबार बजार परिसूचक नेप्से ४.४७ अंकले बढेर १३३१.१० अंकमा बन्द भएको छ । बिहीबार नेप्सेमा १७८ कम्पनीको २२ लाख २६ हजर २०३ कित्ता सेयर किनबेच हुँदा ९० करोड ८० लाख ८६ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

यो साता बजार परिसूचक नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स पनि बढेको छ । गत साता २६९.०३ अंकमा बन्द भएको सेन्सिटिभ इन्डेक्स यो साता ११.३८ अंकले बढेर २८०.४१ अंकमा बन्द भएको छ ।

बजार परिसूचक नेप्सेमा भएको वृद्धिसँगै बजार पुँजीकरण पनि बढेको छ । सेयर बजारमा लगानीकर्ताको कुल सम्पत्ति गत साता १६ खर्ब ४७ अर्ब ५६ करोड ३० लाख रहेकामा यो साता ६ प्रतिशत (९९ अर्ब रुपैयाँ) ले बढेर १७ खर्ब ४६ अर्ब ३५ करोड ७७ लाख पुगेको छ ।

कारोबार रकमका आधारमा यो साता नेपाल पुनर्बिमा कम्पनीले लिड गरेको छ । लगानीकर्ता कम्पनीको सेयरमा झुन्डिएको देखिन्छ । साताभर कम्पनीको ७९ करोड ५५ लाख रुपैयाँबराबरको कारोबार भएको छ । त्यस्तै यो साता नेपाल लाइफ इन्स्योरेन्सको ४३ करोड ३० लाख, एनएमबी बैंकको १९ करोड ३ लाख, हिमालयन डिस्टिलरीको १८ करोड ७० लाख, छिमेक लघुवित्तको १६ करोड ७५ लाख, नबिल बैंकको १४ करोड २१ लाख शिवम् सिमेन्टको १३ करोड ८९ लाख, एनआईसी एसिया बैंकको १३ करोड ८८ लाख, प्रभु बैंकको संस्थापक सेयर ११ करोड १६ लाख र साना किसान लघुवित्तको ९ करोड ३१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

बजार पुँजीकरणमा भने नेपाल दूरसञ्चार कम्पनी नै पहिलो स्थानमा छ । कम्पनीको पुँजीकरण यो सातको अन्तिम दिनमा आउँदा ९५ अर्ब १० करोड छ । त्यस्तै पुँजीकरणको आधारमा दोस्रोदेखि दशौंमा क्रमशः नबिल बैंकको ७४ अर्ब ८३ करोड, नेपाल लाइफको ६७ अर्ब ४९ करोड, नेपाल इन्भेस्टमेन्ट बैंकको ६२ अर्ब ५७ करोड, एभरेस्ट बैंकको ५५ अर्ब ४० करोड, एनएमबी बैंकको ५३ अर्ब ७१ करोड, नेपाल पुनर्बिमा कम्पनी ५० अर्ब ४० करोड, स्टान्डर्ड चार्टर्ड बैंकको ४९ अर्ब तीन करोड, एनआईसी एसिया बैंकको ४८ अर्ब ७८ करोड र हिमालयन बैंकको ४८ अर्ब ३६ करोड छन् ।

यो साता बजार पुँजीकरणका आधारमा शीर्ष १० कम्पनीमा नेपाल पुनर्बिमा कम्पनीको प्रवेश हुँदा ग्लोबल आईएमई बैंक भने बाहिरिएको छ ।