विकास दुबे : उज्जैनमा गिरफ्तारदेखि कानपुरमा इन्काउन्टरसम्मको कहानी

काठमाडाैँ :  उत्तर प्रदेशको कानपुरमा आठ प्रहरीको हत्याका मुख्य आरोपी विकास दुबेको शुक्रबार बिहान मृत्यु भएको छ । उत्तर प्रदेश प्रहरीका अनुसार प्रहरीको एक स्पेसल टास्क फोर्स दुबेलाई लिएर मध्यप्रदेशबाट कानपुर आइरहेको थियो । बीचमा प्रहरीको गाडी पल्टियो ।

यही मौकामा दुबेले भाग्ने प्रयास गरेका थिए । अन्ततः प्रहरीको कारबाहीमा उनको मृत्यु भएको प्रहरीको दाबी छ । गोलीकाण्डको सात दिनपछि बिहीबारमात्रै दुबेलाई प्रहरीले नाटकीय ढंगले मध्यप्रदेशको उज्जैनबाट पक्राउ गरेको थियो ।

उज्जैनको आधिकारिक स्रोतका अनुसार विकास दुबेले बिहीबार बिहान महाकालेश्वर मन्दिर पुगेर २५० रुपैयाँको भीआईपी टिकट काटेका थिए । टिकटमा नाम पनि विकास दुबे नै लेखिएको थियो । उनीसँग एउटा झोला थियो । उनी मन्दिरमा चढाउने प्रसाद किन्नको लागि नजिकैको एउटा पसलमा समेत गएका थिए ।