सिन्धुपाल्चोकमा पहिरो : वाग्मती प्रदेशका तीन मन्‍त्री घटनास्थलतर्फ जाँदै

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा सिँगो गाउँ नै क्षति पुर्‍याएको छ ।

सोही क्षेत्रमा अहिले वाग्मती प्रदेशमा आन्तरिक मामिलामन्‍त्री शालिकराम जमरकट्टेलसहित तीनजना मन्‍त्री हेलिकोप्टरबाट जाने तयारीमा छन् ।

वाग्मती प्रदेशका एसएसपी सुदीप गिरीका अनुसार मन्‍त्रीसहितको टोलीले सो क्षेत्रको अवस्थाबारे जानकारी लिनेछ ।बाह्रबिसे नगरपालिकाको जम्बुमा गएको पहिरोमा परेर अहिलेसम्म २३ जना बेपत्ता भएका छन् । बाढी-पहिरोमा परी दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाबुछोरी रहेको बताइएको छ ।

जम्बुका निकेश बस्‍नेत र उनकी तीन वर्षीया छोरीको शव फेला परेको बाह्रबिसेकी उपमेयर सुशीला पाख्रिनले जानकारी दिइन् ।

जम्बुमा मात्रै १९ जना बेपत्ता छन् । खाँदखोल र जम्बुमा गरेर २३ जना बेपत्ता भएका हुन् । उपमेयर पाख्रिनका अनुसार केही घरभित्रै पुरिएको आशंका गरिएको छ भने केहीलाई पहिरोले बगाएको हुन सक्ने आशंका गरिएको छ ।