भरतपुर अस्पताललाई तीन सय थान पीपीईसहित १० लाखको स्वास्थ्य सामग्री सहयोग

चितवन :   नेदरल्यान्डको मिडोरा नेपाल हेल्थ फाउन्डेसन अन्तर्गतको कम्युनिटी हेल्प सेन्टर, नेपाल गैरसरकारी संस्थाले भरतपुर अस्पताललाई तीन सय थान पीपीईसहित १० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

अस्पताल परिषरमा बुधबार एक कार्यक्रमका बीच अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारी र मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रीराम तिवारीलाई संस्थाका अध्यक्ष केशव पाण्डेले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । कोरोना जोखिम न्यूनीकरण र स्वास्थ्यकर्मीलाई उच्च मनोबल प्रदान गर्ने उद्देश्यले स्वास्थ्य सामग्री प्रदान गरिएको संस्थाले जानकारी दिएको छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले यस सहयोगी संस्थाले हालसम्मकै ठूलो सहयोग गरेको बताए । ‘३०० सय थान उच्च गुणस्तरको पीपीई छ, यो सहयोग अहिलेसम्मकै ठूलो सहयोग हो,’ डाक्टर अधिकारीले भने । सीमित श्रोतसाधनबाट सञ्चालित यस अस्पताललाई यी सामग्रीले स्वास्थ्यकर्मी, चिकित्सकलाई ऊर्जा प्रदान हुने उनको भनाइ छ । अस्पतालमा हाल ४० जना कोरोना संक्रमितको उपचार भइरहेको भन्दै यसलाई थप व्यवस्थित गर्न लागिएको उनले जानकारी दिए ।

संस्थाले तीन सय थान पीपीई, २ हजार थान फेस मास्क, ५० प्याकेट ग्लोब्स, ५ थान थर्मल गन लगायत ११ प्रकारका स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

सो अवसरमा बोल्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर तिवारीले कोरोना जोखिम न्यूनीकरणका लागि यस्ता स्वास्थ्य सामग्रीको आवश्यकता भइरहेका बेला संस्थाले गरेको सहयोग अस्पतालका लागि विशेष भएको बताए । यस अस्पतालमा देशकै विभिन्न जिल्लाबाट बिरामी आउने बिरामी चाप बढ्ने र जोखिम पनि उत्तिकै रहेकाले सामग्रीको सही सदुपयोग हुने उनको भनाइ छ ।

संस्थाका अध्यक्ष केशव पाण्डेले कोरोना भाइरसले सबैलाई आक्रान्त पारिरहेका बेला अस्पताललाई केही सहयोग पुगोस् भन्ने हेतुले स्वास्थ्य सामग्री प्रदान गरिएको बताए । संस्थाले विगतमा देशका विभिन्न विद्यालयलाई सहयोग गर्दै आएको भए पनि यसपटक भरतपुर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरिएको पाण्डेले बताए ।