चीन अमेरिकाका लागि सबभन्दा ठूलो खतरा : एफबीआई निर्देशक

एजेन्सी : अमेरिकी खुफिया एजेन्सी (एफबीआई) का निर्देशक क्रिस्टोफर रे ले चीन अमेरिकाका लागि सबभन्दा ठूलो खतरा भएको बताएका छन् । उनले वासिङ्टनको हडसन इन्स्टिच्युटमा चीन सरकारको जासुसी र सूचनाको चोरी अमेरिकाको भविष्यका लागि अहिलेसम्मकै सबभन्दा ठूलो र दीर्घकालीन खतरा भएको बताएका हुन् ।

उनले चीनले कयौं यस्ता अभियान चलाइरहेको बताएका छन् । चीनले विदेशमा रहेका आफ्ना नागरिकलाई फिर्ता बोलाइरहेको छ र कोरोना भाइरसको अनुसन्धानमा आफ्ना कमजोरी लुकाउने प्रयास गरिरहेको निर्देशक रेले बताए ।

उनले भने, “चीन कुनै पनि हालतमा विश्वकै एक सुपरपावर मुलुक बन्‍ने प्रयास गरिरहेको छ । अहिलेको समय उसका लागि सबभन्दा ठूलो अवसर हो ।”

उनले चीनबाट हुने यी खतराका बारेमा आगामी साता हुने अमिरिकी महान्याधिवक्ता र विदेशमन्त्रीले पनि यसमा ध्यान दिने विश्वास भएको बताए ।

अमेरिका-चीनबीच कोरोना भाइरस र चिनियाँ एपका विषयमा विवाद चलिरहेको समयमा एफबीआईले यस्तो अभिव्यक्ति सार्वजनिक गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसका विषयमा लगातार चीनको आलोचना गर्दै आइरहेका छन् ।

यसअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाउने विषयमा विचार गरिरहेको बताएका थिए । उनले भनेका थिए, “यी एपमार्फत् चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारले निगरानी गरिरहेको छ ।”

एफबीआई निर्देशकले भने, “चीनले हरेक किसिमका जासुसी गरिरहेको छ । चीनले आर्थिक जासुसी अन्तर्गत डाटा र पैसा चोरी गरिरहेको छ । अवैध राजनीतिक गतिविधिहरु गरिरहेको छ ।

विभिन्‍न प्रलोभनका आधारमा अमरिकी नीतिलाई प्रभावित गरिरहेको छ । आज हामी यस्तो स्थितिमा पुगेका छौं कि हरेक १० घण्टामा चीनसँग जोडिएका नयाँ मुद्दाका विषयमा अनुसन्धान गर्नु परेको छ । हाल देशभर यस्ता ५ हजार मुद्दा दर्ता भएका छन् ।” बीबीसी