चेपाङको उत्थानमा सपना भिलेजको नयाँ प्रयोग : आत्मनिर्भर बनाउन फलफुलका विरुवा वितरण (फोटोफिचर)

चितवन : चितवनको सौराहामा रहेको सपना भिलेज सोसल इम्प्याक्टले इच्छाकामना गाउँपालिकाका वडा नं १ का सीमान्तकृत चेपाङ समुदायलाई फलफुल र घाँसका विरुवा वितरण गरेको छ ।

इम्प्याक्टले सुरु गरेको सबै यात्राहरुको सुरुवात एक सपनाबाट हुन्छ नामक परियोजना अन्तर्गत चेपाङ समुदायको आयआर्जनको लागि विरुवा वितरण गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । सो वडाका ६५ घरपरिवारलाई जनही १०० वटा सुन्तला,१०० वटा कागती र मागको आधारमा घाँसका विरुवा वितरण गरिएको हो ।

चौकीडाँडामा आयोजित कार्यक्रममा परियोजनाका कार्यक्रम निर्दैशक सुजन बस्नेत र हात्तीवाङमा आयोजित कार्यक्रममा परियोजना अधिकृत अनिल अर्यालले विरुवा हस्तान्तरण गरेका थिए ।

वडा सदस्य अन्जु प्रजाले इम्प्याक्टले सुरु गरेको परियोजनाले यहाँका चेपाङ समुदायको जीवन स्तर उकास्न सहयोग मिल्ने विश्वास व्यक्त गरिन । चेपाङ समुदायको जीवन स्तर उकास्न सपना भिलेजले इच्छाकामनामा सो परियोजना सुरु गरिएको अध्यक्ष गिरीले बताए ।