माहुते संकटमा– ‘पहिले हामीलाई बचाउनुस् हात्ती बचाउने जिम्मा हाम्रो भो !’

सूर्यप्रसाद अधिकारी, चितवन । कोभिड १९ को महामारीको असर सम्पूर्ण क्षेत्रमा परिरहेको बेला यसको गम्भीर असर सौराहाका माहुतेमा पनि परेको छ ।

सौराहाको पर्यटनमा परेको असरका कारण माहुतेहरूलाई अहिले दैनिक हातमुख जोर्न धौधौ परेको छ । अन्य सामान्य परिस्थितिमा नियमित तलब र पर्यटकले दिएको टिप्सका भरमा सन्तोषजनक जीवनयापन गर्दै आए पनि अहिलेको महामारीका कारण उनीहरू आर्थिक संकटमा परेका हुन् । लकडाउनपछि निकुञ्‍ज र मध्यवर्ती क्षेत्रमा हात्ती चराउन निषेध गरिएपछि हात्ती पनि संकटमा परेको व्यवसायीको भनाइ छ ।

यसअघि बिहान ४ देखि बेलुकी ८ बजेसम्म माहुतेहरूको दिनचर्या पर्यटक घुमाउने, हात्तीको स्याहारसुसारमा बिते पनि अहिले फुर्सदिला देखिन्छन् । चितवनको सौराहामा माहुते, पछुवा, फनेत गरी करिब डेढ सयजना छन् । अहिले उनीहरूले नियमित तलब पाउन सकेका छैनन् । न पेसा नै छाड्न सकेका छन् । “चार महिना हुन लाग्यो महिना मरेपछि तलब पनि आएको छैन न पर्यटक घुमाउन पाएका छौं,” ४८ वर्षीय दशैं चौधरी दुखेसो गर्छन् ।

उनले हात्तीमा पर्यटक चढाएर घुमाएको ३५ वर्ष भइसक्यो तर यस्तो अवस्था कहिल्यै आएको थिएन । “मेरो बुबा पहिले नै साहुमहाजनको हात्ती चलाउनुहुन्थ्यो । मैले पनि १२ वर्षमै हात्ती चलाउन सकें,” उनी विगत सम्झन्छन् । वीरगन्ज स्थायी घर भएका चौधरी कोरोना कहरका कारण उनको परिवारमा चुलो बाल्न धौधौ परेको बताउंँछन् ।

हात्तीको दैनिक आहारा जुटाउंँदै आएका माहुतेलाई निकुञ्‍जमा हात्ती चराउन नदिए पनि आहाराको समस्या भने नपर्ने फनेत माहुते संघ सौराहाका अध्यक्ष सुकबहादुर कुमालको दाबी छ । “हात्तीलाई बरु भोको बस्न दिएका छैनौं,” उनले भने, “हाम्रो बरु हातमुख जोर्न मुस्किल भयो ।”

सरकारी हात्तीका माहुतेले नियमित तलब पाएको तर आफूहरू निराश भएकाले सरकारले पनि यसतर्फ चासो राख्नुपर्ने उनको तर्क छ । हात्तीधनीले स्वयं हात्तीलाई आफैं स्याहार्न सक्दैनन् न त अन्य सामान्य मानिसले नै सक्छन् । माहुते बन्न पनि विभिन्न तालिम लिनुपर्छ, चरण पार गर्नुपर्छ ।

“हामीले जानेको कामै यही हो । अरू काम गर्न आउँदैन, म झन्डै ७० पुग्न लागिसकें, बुढो भइयो, कता जाने के गर्ने ?” बेरोजगारीजस्तै बनेका माहुते कुमालले भने ।

तत्कालीन समयमा पूर्वराजा वीरेन्द्र शाह निकुञ्‍जमा सिकार खेल्न आएका बेला तीनपटक जंगल सफारी गराएका कुमाल यस्तो संकटको सामाना कहिल्यै नगरेको बताउँछन् । अन्य माहुतेको व्यथा पनि उनकोभन्दा कम छैन । उनीहरू पनि लकडाउन खुल्ला र अवस्था सहज बन्ला भनेर पर्खाइमा छन् ।

विगत ७ वर्षदेखि माउत पेसा गर्दै आएका भरतपुर महानगरपालिका २८ का राम कुमाल भन्छन्, “चा महिना हुन लागिसक्यो टुरिस्टको नाकमुखै देख्या छैन, एकसुको पैसा हात पनि पर्या छैन,” उनले पीडा सुनाए । उनलाई आफ्नो पेसाको चिन्तासँगै स्कुल जान थालेका बालबालिकाको चिन्ताले झनै गाँजेको छ । “अब बच्चाहरूलाई स्कुल भर्ना गर्नुपर्ने बेला भयो, साहुले पैसा दिनै ढिला गर्छ,” उनले सुनाए ।

पर्यटन व्यवसाय अस्तव्यस्त भएकाबेला व्यवसायीले न बैंकको ऋण नियमित तिर्न सकेका छन् न कर्मचारीलाई तलब दिन सकेका छन् । पर्यटन व्यवसायीले सबै कर्मचारीलाई लकडाउन सुरु भएपछि बेतलबी दिएर बिदाइ दिइसकेका छन् । तर त्यही पर्यटन व्यवसायीका लाखौं रुपैयाँ पर्ने हात्ती भने पाल्नुपर्ने बाध्यता छँदै छ ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था सौराहाका अध्यक्ष ऋषिराम तिवारी भने हात्तीहरूलाई आहारा खुवाउन नसकेका बेला हात्ती धनीले नदिए पनि सहकारीको कोषबाट तलब दिएको बताउंँछन् । माहुतेबाहेक अन्य कसैले हात्तीको हेरचाह गर्न नसक्ने हुनाले पनि तलब नियमित गर्नुपर्ने उनको भनाइ छ ।