एसपी राना जनता माझ भन्छन् : नागरिकमैत्री प्रहरी बनाउदै बाँकेलाई अपराध मुक्त बनाउँछु

बाँके: जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाले बाँके जिल्लालाई अपराध मुक्त बनाइने बताएका छन् । ११ दिन पहिले बाँके प्रहरीको नेतत्व सम्हालेका उनले बाँकेलाई अपराध मुक्त बनाउने बताएका हुन् ।

पर्वत समाज बाँकेले  कोहलपुरमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले आफू बाँकेमा जिल्लामा रहदा सम्म सम्पूर्ण पक्षसँग सहकार्य र समन्वयका साथ यहाँका सुरक्षा चूनौती कम गर्नको लागि क्रियाशिल हुने बताए ।

उनका अनुसार बहु साँस्कृतिक,धार्मिक, भूगोलका मानिस बसोबास गर्ने बाँकेको प्रहरी संगठनको नेतृत्व आफ्नो लागि चूनौती र अवसर हो ।

उनले आफूले जागिर जीवनमा करिब १० वटा जिल्लामा प्रहरी प्रमुखको रुपमा रहदा संगालेका अनुभवको भरपुर प्रयोग गरि बाँकेमा शान्ति सु–व्यवस्था कामय, अपराध नियन्त्रण र गैरकानुनी गतविधि नियन्त्रण आफ्नो प्राथमिकता रहेको जानकारी दिए ।

राना अहिले सम्म रोल्पा, कालिकोट, दाङ, अर्घाखाची, रसुवा र उदयपुर लगायतका जिल्लामा प्रहरी प्रमुखको रुपमा काम गरिसकेका प्रहरी अधिकृत हुन् ।

यस भन्दा अघि कास्की जिल्लामा अपराध नियन्त्रणमा सफल देखिएका उनी बाँकेमा समेत योजनाबद्ध रुपमा यहाँका समस्या समाधानको लागि आफू सक्रिय भइसकेको बताउँछन् । उनले बाँके आए लगत्तै १७ बुँदे कार्ययोजना र प्राथमिकता समेत सार्वजनिक गरेका छन् ।

उनले बाँकेमा समाज विकृत बनाउने, लागु औषध, सीमामा तस्करी, महिला हिंसा, बाल विवाह तथा विकास प्रक्रियामा बाधा पु¥याउने खालका गतिविधि रोक्नको लागि बाँके प्रहरीले हरेक दिन लागि पर्ने एसपी रानाको भनाई छ ।

अपराध नियन्त्रणको लागि प्रहरीको मात्रै भूमिका नभएर हरेक नागरिकको दायित्व भएको भन्दै सबै मिलेर समृद्ध समाज र शान्ति सुरक्षा कामय गर्नको सबै एकजुट हुनुपर्नेमा समेत जोड दिए । ‘नागरिकको सुरक्षाको लागि प्रहरी २४ सै घण्टा सक्रिय रहन्छ । यहाँ नागरिकले अब असुरक्षाको महशुस गर्नु हुने छैन । हामी योजनाका साथ अघि बढेका छौ ।’ उनले भने ।

बाँकेमा अपराध नियन्त्रणको लागि टोल–टोलमा साइरन जडान गरिने योजना सुनाए । प्रविधिको भरपुर प्रयोग गर्दै पूर्ण रुपमा न्यायको प्रत्याभूति हुनेगरि काम गरिने उनले प्रतिबद्धता व्यक्त गरे । रानाले नागरिकको सुरक्षा, सहज सेवाप्रवाहलाई प्राथमिकता दिएर काम शुरु गरिएको समेत बताएका हुन ।

बाँके जिल्लाका प्रमुख चूनौतीको रुपमा अपराध, गुण्डागर्दी, लागु औषध सेवन ओसारपोसार र विभिन्न सामाजिक समस्या रहेको भन्दै सम्पूर्ण पक्षसँगको सहकार्यमा बाँकेलाई अपराध मुक्त र शान्ति सु–व्यवस्था कायम युक्त जिल्लाको रुपमा परिचित गर्नको लागि आफू सदैव सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरे र उनले बाँके जिल्लाको प्रहरीको नेतृत्व सम्हाले लगत्तै विभिन्न अपराधमा सलंग्न हत्या आरोपमा प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका एक जनालाई पक्राउ गरिएको थियो ।

नौ वटा मुद्दाका फरार अभियुक्त राजेश यादव उर्फ ‘धर्मसिंह’ लाई पक्राउ परेका थिए । यसलाई बाँके प्रहरीको महत्वपूर्ण सफलताको रुपमा लिइएको छ । यस्तै दैनिक लागु औषध, चोरी, र विभिन्न अपराधमा संलग्नहरु पक्राउ पर्ने क्रम बढेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।