घरबहाल सरोकार महासंघको स्थापना दिवस मनाइयो

 

भरतपुर : नेपाल घरबहाल मञ्च चितवनले घरबहाल सरोकार महासंघ नेपालको १० औं स्थापना दिवस मनाएको छ । बहालमा बस्ने उद्योगी, व्यवसायीको हितमा वकालत गर्दै आएको महासंघको जिल्लास्तरमा मञ्चको सञ्जाल देशभर फैलिएको छ । नारायणगढ स्थित मञ्चको कार्यालयमा दीप प्रज्वलन गरी स्थापना दिवस मनाइएको हो ।

महासंघका सल्लाहकार तथा मञ्चका संस्थापक अध्यक्ष हेमराज पौडेलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा मञ्चका अध्यक्ष हरि शर्मा पौडेल, पूर्वअध्यक्ष दुर्गाप्रसाद गौतम, महासंघका महासचिव श्रीराम गिरी लगायतले मन्तव्य राखे । महासंघका सल्लाहकार पौडेलले लकडाउनका कारण व्यवसायी आर्थीक संकटमा परेकाले घरभाडा छुट दिनुपर्ने माग राखे । “सके पुरै महिनाको छुट दिनुपर्छ, नसके ५० प्रतिशत बढी भाडा नलिन आग्रह गर्छौँ”, उनले भने, “सरोकारवाला सबै व्यवसायी संस्था मिलेर लाग्नुपर्छ ।” घरधनीले नयाँ वर्षको शुभकामना कार्ड सहित अस्वभाविक रुपमा भाडा बढाएको जानकारी गराएपछि भाडामा बस्दै आएका व्यवसायीको अगुवाईमा चितवनमा घरबहाल मञ्च गठन भएको थियो । पछि सोही संस्थाकै अग्रसरतामा महासंघ गठन भएको थियो । मञ्चका अध्यक्ष हरिशर्मा पौडेलले भाडा छुट गराउन पहल भैरहेको बताए ।