गिरिजा बाबुलाई युगाैंयुग सम्झनु पर्ने, कसले सम्झिइरहेछन् ?

युगपुरुष गिरिजा बाबुको आज आषाढ १८ गते ९६ औं जन्म जयन्तीको पावन अवसरमा मलाई पनि केही लेख्न मन लाग्यो । उहाँ जिवितै रहेको भए लेख्न आवश्यकता हुन्थेन होला किनकि चितवनलाई उहाँ अत्यन्तै माया गर्नु हुन्थ्यो । कम्तीमा बर्षको ५/६ पटक नजिकैबाट देख्न पाईन्थ्यो ।

गिरिजा बाबुलाई पहिलोपटक २०४५ सालमा म क ख देखि कक्षा ७ सम्म अध्ययन गरेको भरतपुर महानगरपालिका वडा नं ६ (साबिक गीतानगर गाउँविकास समिति वडा नं ४) देवनगरमा रहेको श्री देव ज्योती निमाविमा लगाएको धनधान्याञ्चल महायज्ञमा सर्बोच्च नेता गणेशमान सिंहको साथमा आउँदा नजिकैबाट देख्न पाँए ।

राजिव न्याैपाने

पछि दोश्रो पटक २०४७ सालमा, जनआन्दोलन २०४६ सालका प्रथम सहिद गणेश पौडेलका परिवारका सदस्यहरुलाई भरतपुर महानगर वडा नं १३ (साबिक गीतानगर गाउँविकास समिति वडा नं २) चम्पानगरमा भेटघाट गर्नआउँदा देख्न पाएँ । त्यसपछि पटक पटक, धेरै पटक नजिकैबाट देख्न पाँए । २०५३ साल देखि २०६७ सालसम्म उहाँले धेरै नजिकै बसेर नेता तथा कार्यकर्ता साथीहरूलाई देशको समसामयिक राजनैतिक बस्तुस्थितिका बारेमा जानकारी गराउने र प्रशिक्षित गरिरहँदा नजिकैबाट सुन्ने अवसर मिल्यो । यति नै अवसर मिल्यो मलाई । तर ब्यक्तिगत चिनजानको संभावना नै थिएन किनकि म जिल्लाको बिद्यार्थी राजनीति गतिविधिमा सकृय थिएँ । सत्य कुरा, मेरो राजनैतिक उचाईले गिरिजा बाबुलाई भेट गर्ने हैसियत बनाइसकेकाे थिएन ।

आज गिरिजा बाबुका बिषयमा केही लेखिरहँदा, उहाँ जस्तो राजनैतिक क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त ब्यक्तित्वका बिषयमा लेख्न मलाई चुनौति छ । गिरिजा बाबुका राजनैतिक परिवर्तन र सामाजिक रुपान्तरणका बारेमा, उहाँका ब्यक्तिगत जिवनका दुख कष्टलाई सम्झि सम्झि इतिहास पल्टाएर लेख्ने हो भने महिना दिनमा पनि सकिदैन । तर केही समय लगाएर भएपनि मैले नलेखे कस्ले लेख्ने,भनी लेख्ने प्रयास गर्दै छु । हतारमा लेख्दा उहाँ प्रति अन्याय नहोस् ।

पिता कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको सन्तानको रुपमा यस धर्तीमा विक्रम सम्वत १९८१ साल आषाढ १८ गते गिरिजाप्रसाद कोइरालाको जन्म भएको थियो । पिता कृष्णप्रसाद, दाजुहरु वीपी कोइराला, मातृकाप्रसाद कोइराला, तारणी प्रसाद कोइराला लगायत काेइराला परिवारका सबै सदस्यहरु राजनैतिक परिवर्तन र सामाजिक रुपान्तरणका पक्षमा सकृय रहेका कारण घरायसी वातावरण बाट नै सामाजिक रुपान्तरण र राजनैतिक परिवर्तन पक्षका गतिविधिका बिषयमा गिरिजाप्रसाद कोइरालाको परिचित हुनुहुन्थ्याे । परिवारनै राजनीतिमा रहेकाले उहाँलाई बाल्यकालबाट नै राजनैतिक परिवर्तन र सामाजिक रुपान्तरणमा सकृय हुने अबसर मिल्यो । बाल्यकालबाटै सकृयताका साथ नेतृत्वमा अगाडि अगाडि देखिँदै, हरेक बिषयमा आफुले योगदान पुर्‍याउनु पर्दछ र नेतृत्व पनि लिदै जानुपर्छ भन्ने मान्यता गिरिजाप्रसादमा देखिन्छ ।

बाल्यकालबाटै गिरिजाप्रसाद अत्यन्तै मेहनती दुखः कष्ट झेल्न सक्ने, ठुल्ठुला जोखिमहरु उठाउन तयार हुने, निडर र स्वाभिमानी स्वभावकाे हुनुहुन्थ्यो । जब गिरिजाप्रसाद हरेक गतिविधिमा सरिक हुँदै अगाडि बढ्दै जानूहुन्थ्यो पार्टीभित्र उहाँका प्रसंशकहरु दिनप्रतिदिन थपिदै गएका हुन्थे । गिरिजाप्रसादलाई पार्टीभित्र सबै उमेर समुहका साथीहरूले सजिलो गरि बोलाउनु पर्दा गिरिजा बाबू भन्दा उहाँ प्रफुल्लित हुनुहुन्थ्यो ।

तत्कालीन राणा शासनका बेलामा राजनैतिक परिवर्तन र सामाजिक रुपान्तरणका बिषयमा कुरा मात्रै गर्दा पनि ज्यान जाने, सर्वस्व हरण हुने र देश निकाला गरिदिने प्रसस्त संभावनाहरु हुन्थ्यो । गिरिजा बाबुका पिता, दाजुहरु र परिवारका सबै सदस्यहरु राणा शासन बिरोधी राजनैतिक परिवर्तन र सामाजिक रुपान्तरणका अगुवाको रुपमा चिनिनु हुन्थ्यो । त्यसै कारण तत्कालीन राणा सरकारले पटकपटक उहाँहरुको परिवारलाई सर्वस्व हरण र देश निकाला गरेका थिए । गिरिजा बाबु नेतृत्वमा उच्चतम् क्षमता राख्ने सफल नेता भएकाले उहाँको नेतृत्व गर्ने कार्यशैलीलाई सबै कार्यकर्ताले मन पराउँथे ।

स्वर्गिय गिरिजा प्रसाद काेइराला

गिरिजा बाबु २००३ सालमा नेपाल कै पहिलो मजदुर नेता हुनुहुन्थ्यो । नेपालको इतिहासमा पहिलोपल्ट बिराटनगरमा रहेको जुटमिलमा, ऐतिहासिक औधोगिक मजदुर हडताल सम्पन्न पश्चात् उहाँलाई मजदुर साथीहरूले २००३ साल फाल्गुन २० गते अध्यक्षको रुपमा चुनेका थिए । उक्त मजदुर आन्दोलनलाई वीपी कोइरालाको सहयोग र निर्देशन थियो । उक्त मजदुर हडतालमा संलग्न रहेको आरोपमा तत्कालीन राणा सरकारले उहाँ लगायत वीपी कोइराला, तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारी, युवराज अधिकारी, गेहेन्द्र हरि शर्मा लगायतलाई गिरफ्तार गरि २४ दिनको पैदलयात्रामा काठमाडौ पुर्याइएकाे थियो ।

यसरी सानै उमेरदेखि निडर स्वभावका धनी गिरिजा बाबुको राजनैतिक उचाई थपिदै गयो । उहाँ मेहनती, लगनशील र इमान्दार नेताको रुपमा चिनिनुहुन्थ्यो । उहाँले आफ्नो ब्यक्तिगत जिवनलाई कहिल्यै पनि ख्याल गर्नु भएन, सधैं राष्ट्र र पार्टीका बिषयमा मात्र समय खर्चिनु भयो । उहाँको जीवन सधैं दुःखै दुःख बितेको हामी पाउँछौ । नेपालको कुनै त्यस्तो भूगोल छैन जहाँ गिरिजा बाबु नपुगेको होस् । देशका कुना कन्दरा पुगेर सबै तहका जनताहरुको बिचार बुझि पार्टीमा त्यहि अनुसारको भुमिकामा प्रस्तुत हुने स्वभाव गिरिजा बाबु सँग थियो ।

यदि उहाँले दिल्लीमा गएर शशस्त्र द्वन्द्व गरेकाे संगठनसँग शान्तिपूर्ण वार्ता गर्ने हिम्मत नगर्नु हुन्थ्याे त, अहिलेकाे परिवर्तन हामीले पाउने थिएनाै ।

वीपी कोइरालाको राजनैतिक नेतृत्वमा रहि गिरिजा बाबुले पार्टीको संगठनलाई गाउँ गाउँमा, झुपडी झुपडीमा पुर्याउन मद्दत पुर्‍याउनु भएको थियो । गिरिजा बाबुको नेतृत्वमा ठुल्ठुला क्रान्तिहरु सम्पन्न भएका छन् । गिरिजा बाबुले आँटेपछि त्यो काम जसरी पनि सम्पन्न हुन्थ्यो । जसले १०४ बर्षसम्म रहेको राणा शासन र पछि ३० बर्षसम्म रहेको पञ्चायती शासन ब्यवस्थालाई जरैदेखि उखाल्न ठूलाे याेगदान पुगेको थियो ।

गिरिजा बाबुले नेपालको सबै राजनैतिक परिवर्तनमा अग्रणि र उल्लेखनीय भुमिका खेल्नु भएको थियो । पटकपटक जेलको यातनापुर्ण जीवन, देश निकाला उहाँका लागि पानी पधेंरो जस्तै थियो । २०४६ सालको राजनैतिक परिवर्तन पछाडि उहाँले पार्टी र सरकार दुबै सञ्चालन गर्नुपर्यो । यसरी अगाडि बढ्दै गर्दा उहाँ प्रति पार्टी भित्रैबाट अनावश्यक गुनासाहरु ब्यहोर्नु पर्यो ।

सरकारलाई स्पष्ट दिर्घकालिन गुरुयोजना अनुसार सञ्चालन गरिरहेको समयमा २०५२ साल फाल्गुन १ गते बाट कथित सशस्त्र माओवादी द्वन्द्वले मुलुक र देशको राजनैतिक परिवर्तनलाई नै चुनौती दिँदै तत्कालीन नेकपा माओवादीको सशस्त्र संघर्षले गिरिजा बाबुले राष्ट्रपति गर्न खोजेका लक्ष्यहरु पूरा गर्न अबरोध हुनपुग्यो । यो घाउले उहाँलाई निकै पीडा भयो । कथित १० बर्षको द्वन्द्वले नेपालमा हजारौं नेपालीहरुले अकाल मै ज्यान गुमाउनु पर्यो । अरबौंका बिकासका संरचनाहरु ध्वस्त भए, देशको चौतर्फि क्षेत्रमा यसले नकारात्मक प्रभाव पार्यो । गाउँ गाउँमा काँग्रेसका नेता तथा कार्यकर्ताहरु तत्कालिन द्वन्द्वरत माओवादीको निशानामा पर्न थाले, सयौंको संख्यामा हत्या गरियो, सयौंको संख्यामा अङ्ग भङ्ग भए । हजारौं नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु आफ्नो थाकथलोबाट बिस्तापित हुन पुगे । त्यसैगरि तत्कालिन सत्ता पक्ष र सशस्त्र द्वन्द्वरत पक्ष हजारौंको संख्यामा मृत्यु, हताहती, अङ्ग भङ्ग र घरवारविहीन छन् ।

आखिर जो मरेपनि नेपाली नै मरेको छ । नेपालीले नेपालीलाई सिध्याउने परिस्थिति सृजना हुँदै गएको थियो । देशमा जारी हत्या हिंसाको राजनीतिले उहाँलाई निकै पिडा भईरहेको थियो । यो घाउको उपचार र समाधानको उपाय सोच्नु पर्ने बाध्यता उहाँलाई नै थियो । तर, परिस्थिति अनुकुल भइरहेकाे थिएन ।

उहाँ प्रधानमन्त्री हुदाँका बखत राजा बिरेन्द्रकाे बंश नाश हुने गरि २०५८ जेष्ठ १९ दरबार हत्याकाण्ड भयाे । माओवादी द्वन्द्वले जर्जर बन्दै गएकाे मुलुकमा दरबार हत्याकाण्ड जस्ताे ठूलाे घटना घटेपनि गिरिजा बाबुले अफ्टेराे परिस्थितिकाे समाना गर्नु पर्याे । दरबार हत्याकाण्ड पछि राजा हुन पुगेका तत्कालिन राजा ज्ञानेन्द्रले २०४६ सालको जनआन्दोलनबाट प्राप्त उपलब्धि २०४७ सालको संविधानमा उल्लेखित जनतामा निहित शासन अधिकारलाई खाेसी मुलुककाे शासन सत्ता कब्जामा लिएको दिन २०५९ असोज १८ मा उहाँलाई अर्को चोट दियो । २०५९ साल आश्विन ४ गते उहाँलाई निकै दुःखको अनुभुति भएको अर्को क्षण भनेकाे पार्टी बिभाजन हाे । यो घाउले नेपाली काँग्रेसलाई मात्र हैन सिंगाे मुलुकलाई असर गर्याे । २०४६ सालकाे जनान्दाेलनबाट प्राप्त राजनैतिक परिवर्तन धरापमा पर्यो ।

गिरिजा बाबुले सबैलाई सम्मान हुनेगरि सबै समस्या वा घाउहरुको राजनैतिक उपचारको विधि निकाल्नु पर्ने बाध्यता टड्कारो रुपमा देखापर्यो । उहाँ यी समस्या वा घाउ मध्ये सशस्त्र माओवादी द्वन्द्वलाई कसरी समाधान गर्ने र बिघटित संसदलाई कसरी ब्यऊँताउने साेच र याेजनामा हुनुहुन्थ्याे । उहाँ एक्लैले दुवै समस्या हल गर्ने संभावना देख्नु भएन र, तत्कालिन अवस्थामा सकृय सात राजनैतिक दलहरु सँग सहमति लिई अगाडि बढ्नुपर्ने रणनीति बनाउनु भयाे । तद अनुसार जंगलमा रहेकाे माओवादीलाई घर फर्काउने, सिंहदरबारबाट नारायणहिटी पुगेकाे अधिकार पुनर्स्थापित गर्ने काममा उहाँ लाग्नु भयाे ।

जंगलमा रहेकाहरूसँग त वार्ता गर्न धेरै समस्या देखिएन । तर, नारायणहिटीमा रहेका शासकसँग चैं उहाँले कसै गरी वार्ता गर्न सक्नुभएन । शाही सरकार गिरिजा बाबुलाई खासै मन पराउँदैनथ्याे, भलै उहाँले जनान्दाेलन ०६२/०६३ काे सफलतासम्मै राजसंस्था प्रति सकारात्मक धारणा राखिरहनु भयाे । तत्कालिन दलहरुसँग सहमति लिई भारतको दिल्लीका गल्ली गल्लीमा पुगि तत्कालिन द्वन्द्वरत माओवादीका नेताहरुलाई शान्तिपूर्ण मार्गमा ल्याएर २०५२ सालदेखि जारी हत्या हिंसाको राजनीतिबाट मुलुकलाई निकास दिन कम चुनाैतिपूर्ण थिए ।

तर, त्यसलाई गिरिजा बाबुले कुशलता पूर्वक निर्वाह गर्नुभयाे र २०६२ मंसिर ७ गते तत्कालिन विद्राेही माओवादी सँग बाह्र बुँदे सहमति भयाे जसले नेपालकाे राजनीतिमा अहिले पनि ठूलाे महत्व राख्दछ । यो सहमतिले देशमा जारी हत्या हिंसाको राजनीतिलाई पुर्णबिराम मात्र लगाएन, २४० वर्षदेखि विद्यमान राजसंस्थालाई समाप्त गर्ने, जनताद्वारा पहिलाे पटक संविधान लेख्ने तथा संघियता र धर्मनिरपेक्षतामा मुलुकलाई लैजाने काम भयाे । जसलाई नेपाली इतिहासले सुनाैला अक्षरले लेखेकाे छ ।

दिल्लीमा भएकाे ऐतिहासिक १२ बुँदे सहमतिकाे जगमा टेकेर २०६२/०६३ को जनआन्दोलन सफल भयाे । बिघटित संसद पुनस्थापित भयो र गिरिजा बाबुको नेतृत्वमा सरकार गठन भयो । गिरिजा बाबु कै नेतृत्वमा रहेको सरकारले देशमा अन्तरिम संविधान र अन्तरिम सरकारको घोषणा गर्यो । गिरिजा बाबुले प्रधानमन्त्री, ब्यवहारतः राष्ट्राध्यक्षको भुमिका निर्वाह गर्नुपर्यो ।

विस्तृत शान्ति सम्झाैतामा हस्ताक्षर गर्दै तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद काेइराला र तत्कालिन नेकपा माओवादीका अध्यक्ष प्रचण्ड । तस्विरः फायल

गिरिजा बाबु नेतृत्वको सरकार र द्वन्द्वरत माओवादी सँग २०६३ साल मंसिर ५ गते बिस्तृत शान्ति सम्झौता सम्पन्न भयो र २०६३ मंसिर १२ गते गिरिजा बाबू कै नेतृत्वमा माओवादीलाई समेत सरकारमा सामेल गर्नुभयो । यसरी मुलुकमा १० बर्षदेखि क्रान्तिकाे नाममा मडारिएको कालो बादलको अन्त्य भयो ।

उहाँले सबैलाई भन्ने गर्नुहुन्थ्यो, कि यो राजनीति लडाइँमा जितेमा देशले जित्ने छ हारेमा मैले मात्र हार्ने छु । अन्ततः देशले जित्यो, देशको राजनीतिक भविष्यलाई ध्यानमा राखि उहाँले ठुलो जोखिम मोल्नु भएको थियो । यदि उहाँले दिल्लीमा गएर शशस्त्र द्वन्द्व गरेकाे संगठनसँग शान्तिपूर्ण वार्ता गर्ने हिम्मत नगर्नु हुन्थ्याे त, अहिलेकाे परिवर्तन हामीले पाउने थिएनाै । उहाँको यो योगदानलाई आज पनि सम्पूर्ण शान्तिगामी नेपालीहरुले सम्झिरहेका छन् ।

मुलुकमा शान्ति स्थापना भयाे, दरबारमा पुगेकाे शासन सत्ता पनि फिर्ता ल्याइयाे तर, नेपाली कांग्रेस भित्र भने कलह थियाे, एउटा टुकडी उछिट्टिएकाे थियाे जसलाई पुनः पार्टीमा समाहित गर्ने काम उहाँकै हातमा थियाे । गिरिजाबाबुले फुटेकाे पार्टीलाई जाेड्ने काम पनि कुशलता पूर्वक गर्नुभयाे । उहाँले बिघटित पार्टीका साथीहरूको इच्छा जे थियो सबै पूरा गरि २०६४ आश्विन ८ गते दुवै पार्टीबीच संयुक्त महासमितिको बैठकद्वारा बिधिवत रुपमा पार्टी एक भएको घोषणा गर्नुभयो । पार्टी बिघटनको पिडामा परेका गाउँ गाउँका, झोपडी झोपडीमा बस्ने नेपाली काँग्रेसका लाखौं लाख नेता तथा कार्यकर्ताहरुले गिरिजा बाबुकाे त्याग र समर्पणका रूपमा लिए । गिरिजा बाबु जनताका मनमा र कार्यकर्ताका नजरमा झन सम्मानीत भए ।

अन्तरिम संविधान अनुसार माओवादी लडाकु र हतियारको ब्यवस्थापन र संविधान सभाको चुनाव गराउनु पर्ने दायित्व पनि गिरिजा बाबुसँग थियो । संयुक्त राष्ट्र संघकाे प्रत्यक्ष निगरानीमा माओवादी लडाकु र हतियारलाई क्यान्टोनमेन्टमा राखि संविधान सभाको निर्वाचन गर्ने दायित्वलाई महत्त्वपूर्ण जिम्मेवारी ठानेर काम गर्दागर्दै उहाँलाई नेपाली काँग्रेस चुनावमा हार्ने थाहा भयाे, यस्ताे बेलामा उहाँले पार्टीकाे स्वार्थ हेर्न सक्नुहुन्थ्याे तर, पार्टी भन्दा माथि देश र जनता ठानेर उहाँले पराजयलाई स्विकार गर्नुभयाे र समयमै संविधानसभाकाे निर्वाचन पनि गराउन सफल हुनुभयाे ।

जिवनमा उत्तरार्धमा गिरिजा बाबुले नेपालकाे राजनीतिमा जुन प्रकारकाे भुमिका निर्वाह गर्नु भयाे सायदै विश्वका नेताहरूले गर्न सक्छन् ।

२०६४ चैत्र २८ गते प्रथम संविधान सभाको निर्वाचन जनताकाे अभुतपूर्व सहभागितामा सम्पन्न भयाे । जसले नेपाललाई नयाँ युगमा प्रवेश गर्ने बाटाे तयार पार्याे ।

तर राजनीतिक निर्णयका कारण सत्ताको स्वाद रसास्वादन गर्न पुगेका अमुक पार्टीका नेता तथा कार्यकर्ताहरुले भने उहाँलाई भुलेको जस्तो भान भईरहेको छ । खोला तर्यो लौरो बिर्सियो अहिले नेपाली राजनीतिक परिवेशमा भइरहेकाे छ । के आज यो देशमा कुनै पनि राजनीतिक दलका नेताहरु सगँ त्यो दृढ क्षमता छ, त्यागको भावना छ ? पार्टि हार्छ भन्ने थाहा हुँदाहुँदै चुनावमा हाेमिन सक्छन् ? वा परिवर्तनलाई स्विकार्न सक्ने क्षमता छ ? मलाई लाग्छ गिरिजा बाबुकाे अवसानसँगै हाम्राे मुलुकमा त्यागकाे राजनीतिकाे अवसान भयाे । देश र जनता प्रति इमान्दार बफादार नेतृत्व अब हराए, सकिए ।

जिवनमा उत्तरार्धमा गिरिजा बाबुले नेपालकाे राजनीतिमा जुन प्रकारकाे भुमिका निर्वाह गर्नु भयाे सायदै विश्वका नेताहरूले गर्न सक्छन् । देश र पार्टीका लागि राेगले थलिँदै गएकाे शरीरलाई जनताका घरदैलाेमा डाेर्रयाउँदा डाेर्रयाउँदै उहाँले २०६७ साल चैत्र ७ गते आफ्नो ईहलिला त्याग गर्नु भयो । द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनाका केहि कामहरू रहँदारहँदै शरीरले साथ नदिएपछि ब्रम्हलिन हुनुभएका गिरिजा बाबु पछि त्यहि मुद्दाहरूलाई गिजाेल्ने कामहरू भए । कतिपयले नेपालमा शान्ति कायम नहाेस भन्ने सम्मका सड्यन्त्र गरे । तर,गिरिजा बाबुले यतिधेरै मेहनत गरेर द्वन्द्वरत पक्षलाई शान्तिकाे मार्गमा ल्याउनु भएकाे थियाे कि, शान्तिकाे मार्गबाट भाग्ने वा पुनः हतियार लिएर जंगल पस्ने शाहस कसैबाट भएन । अन्नतः विभिन्न अवराेध, संविधानसभाकाे पुनः निर्वाचनबाट मुलुकमा शान्ति स्थापना भयाे ।

तर आजको बिद्यमान परिस्थितिमा सत्ताको स्वाद लिईसकेका र पार्टीको हालिमुहालीमा रुमलिरहेकाहरुले उहाँलाई सम्झिएको जस्तो लागेन। आजको विषम् राजनीतिक परिस्थितिलाई समाधान गर्न सक्ने, जोखिम उठाउन सक्ने उनिहरु सँग कुनै क्षमता पनि देखिएन । नत्र मुलुक अहिले काेराेना संक्रमणबाट गुज्रिरहेकाे बेला सत्ताधारीहरू जनताकाे स्वास्थ्य र जनजिविकाकालाई लात हानेर सत्ताकाे पाैठेजाेरीमा रूमलिने थिएनन् ।

अलबिदा गिरिजा बाबु तपाईं आजपनि नेपालीहरुको मनमनमा हुनुहुन्छ । गाउँ गाउँमा झुपडी झुपडीमा जनताकाे मनमा हुनुहुन्छ ।
लेखक नेपाली काँग्रेस जिल्ला कार्यसमिति चितवनका सचिव हुन् ।