प्रस्तावित ‘नेकपा एमाले’ का महासचिव भन्छन् : ओली आउँछन् भने स्वागत छ

काठमाडाैँ :  बालुवाटारमा जोडतोडले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिँदै गर्दा सञ्चार माध्यममा ‘ब्रेकिङ न्यूज’ आयो– ‘नेकपा एमाले’ नाममा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता ।

यदि वर्तमान सरकार ढलेमा ओलीले पार्टी फुटाउन सक्ने आँकलनकै बीचमा ‘नेकपा एमाले’ दर्ताका लागि निवेदन गएपछि त्यसले तरंग ल्याउने नै भयो ।

नेकपाको स्थायी कमिटी वैठकमा केही नेताहरूले प्रधानमन्त्री ओलीले नै पार्टी फुटाउनका लागि यो चालबाजी रचेको आरोप लगाए । उपाध्यक्ष वामदेव गौतमले दल दर्तामा प्रधानमन्त्री संलग्न भएको आफूसँग प्रमाण नै रहेको दावी गरे । अर्कोतर्फ ओली गुटका नेता–कार्यकर्ता चाहिँ ओलीलाई आरोपित गर्न प्रचण्ड समूहले नै यो जाल बुनेको हल्ला गरिरहेका छन् ।

नेकपा एमाले नाममा दल दर्ताका लागि निर्वाचन आयोगमा मनिषकुमार उपाध्यायको नामबाट गत १२ असारमा निवेदन दिइएको थियो । निर्वाचन आयोगले निवेदन दर्ता गरे पनि दल दर्ताको प्रक्रिया बाँकी छ । निर्वाचन आयोगमा दर्ता गरिएको पत्र  प्राप्त भएको छ, जसअनुसार अध्यक्ष र उपाध्यक्षमा महिला छन् । अध्यक्षमा प्रस्तावि सन्ध्या तिवारी विराटनगरकी हुन् भने उपाध्यक्षमा प्रस्तावित भगवती खड्का रामेछापकी । यसैगरी महासचिव मनिष जनकपुरका हुन् । केन्द्रीय समितिमा ५ जना काठमाडौंका छन् ।

प्रस्तावित २१ सदस्यीय केन्द्रीय समितिमा १० जना महिला छन् । उनीहरु मध्ये एक केन्द्रीय सदस्य ७५ वर्षका छन् बाँकी सबै ५० वर्षमुनिका छन् । अधिकांश ३० देखि ४० वर्षसम्मका युवा छन् । अध्यक्ष तिवारी भने ४७ वर्षकी हुन् ।

तिवारीको पृष्ठभूमि खुलेको छैन । उनी सार्वजनिक हुन पनि चाहेकी छैनन् । उपाध्यक्ष भगवती खड्काको नाम भने परिचित नै हो, खासगरी खेलकुद क्षेत्रका व्यक्तिहरूका लागि । खड्का चर्चित महिला रेसलर हुन् । उनले केही टेलिश्रृंखलामा अभिनयसमेत गरेकी छन् । राजनीतिमा चाहिँ उनी सक्रिय थिइनन् ।

प्रस्तावित एमालेको नेतृत्व पंक्ति पहिचान गर्ने क्रममा हामीले महासचिवका रुपमा प्रस्तावित महासचिव मनिषकुमार उपाध्यायलाई भेट्टायौं । फोन संवादमा उनी राम्रोसँग खुल्न नचाहे पनि केही कुरा शेयर गरे ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कुनै पनि नेताहरूसँग आफूहरूको सम्वन्ध नभएको र कसैबाट परिचालित पनि नभएको मनिषले दावी गरे । आफूहरू सबैजना मदन भण्डारीको अनुयायी भएको कारणले नेकपा एमालेको नाममा दल बनाउन चाहेको उनको भनाइ छ ।

‘हामी सबै फरक–फरक पेशा व्यवसायमा आवद्ध युवा हौं । कोही कपडा व्यवसायी, कोही मसला व्यवसायी, कोही, खेलाडी, कोही समाजसेवी छौं । केही महिनादेखि विभिन्न ढंगले संगठित भएर राजनीतिमा आउने गृहकार्य गरिरहेका थियौं । ३–४ महिनाको तयारीपछि मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर पार्टी दर्ताको लागि निवेदन दिएका हौं,’ उनले सुनाए ।

उनले आफूहरूलाई ‘पूर्व एमाले’ पनि भन्न नमिल्ने बताए । ‘मदन भण्डारीको विचारबाट प्रभावित मात्र हौं । म पहिले एमालेको सामान्य शुभचिन्तक थिएँ, तर पार्टीको सदस्यता लिएको होइन । अहिले नेकपामा पनि हामी छैनौं,’ उपाध्यायले भने ।

आफूहरू देशका लागि केही गरौं भन्ने भावनाबाट राजनीतिमा आउन चाहेको उनको भनाइ छ । ‘हामी सबैको एउटै हुटहुटी यही थियो कि देश सही दिशामा जान सकेन । अब हामीले नै केही गर्नुपर्छ । त्यसका लागि राजनीतिमा आउनुको विकल्प देखेनौं । राजनीतिमा आउनका लागि मदन भण्डारीको विचारलाई हामीले पथप्रदर्शकका रुपमा अपनाउने निर्णय ग¥यौं । एमाले नाम चाहिँ ब्राण्डिङ गर्न सजिलो हुन्छ भनेर छनोट गरेका हौं । हाम्रो अरु कुनै अन्तरनिहित स्वार्थ छैन ।’

अहिले नेकपामा उत्पन्न भएको विवादसँग आफूहरूको कुनै सरोकार र साइनो नरहेको उनले दावी गरे ।

‘नेकपामा विवाद उत्पन्न हुनु र हामीले पार्टी दर्ता गराउनु सँगसँगै जस्तो भयो । स्याल कराउनु र कुखुरा हराउनु एकैचोटि भएको जस्तो मात्रै हो,’ उनले भने ।