माडीमा प्रविधिमार्फत धान रोप्दै मनाइयो राष्ट्रिय धान दिवस

चितवन । कृषिमा यान्त्रीकरण गराउने उद्देश्यसहित मेसिनबाट धान रोपेर चितवनमा १७औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव २०७७ मनाइएको छ ।

माडी नगरपालिका वडा नम्बर ८ कान्तिपुरमा गरिएको सामूहिक खेती प्रणालीमा बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले प्रविधिको प्रयोग गर्दै धान रोपेर राष्ट्रिय धान दिवस मनाइएको हो । कार्यक्रममा मन्त्री लामाले थोरै जमीनबाट धेरै आम्दानी गर्नका लागि समेत सामूहिक खेती प्रणाली अपनाउनुपर्ने भन्दै सरकारले सहयोग गर्ने बताए ।

कृषिमा प्रविधिको प्रयोग गर्दै गरिएको खेती प्रणालीमा उत्पादन लागत कम हुनुका साथै आम्दानी धेरै हुने भएकाले यान्त्रीकरणतर्फ कृषकलाई आकर्षित गराउन प्रविधिको प्रयोग गर्दै धान रोपिएको लामाले बताए ।

सो कार्यक्रममा प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजनाका निर्देशक डाक्टर रेवती रमण पौडेलले कृषियोग्य भूमिमा सामुहिक प्रणाली अन्तर्गत खेती गर्दा कृषकहरुको जीवनस्तर उकासिने बताए । नेपालमा १५ लाख हेक्टर जमिनमा खेती हुने उल्लेख गर्दै त्यसबाट ५५ लाख मेट्रिक टन भन्दा बढी उत्पादन नभएको अवस्थामा प्रविधिको प्रयोग गर्दै खेती गरेमा उत्पादनमा दोब्बर वृद्धि हुने पौडेलले बताए ।

गत वर्षदेखि कान्तीपुरको सुर्योदय कृषि सहकारी संस्थामार्फत एक सय बिघा जमिनमा सामूहिक रुपमा खेती शुरु गरिएको छ । कार्यक्रममा माडी नगरपालिका प्रमुख ठाकुर प्रसाद ढकालले कृषिको यान्त्रीकरण विना माडीको विकास सम्भव नभएको बताए । माडी नगरपालिकाले कृषिलाई प्रमुख प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको समेत ढकालको भनाइ छ ।

सो कार्यक्रममा कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले देशको कुल ग्राहस्थ उत्पादको २० प्रतिशत हिस्सा धान बालीले लिएको बताए । उनले धान बालीलाई महत्वलाई दर्शाउनका लागि राष्ट्रिय रुपमा नै धान दिवस मनाउँदै आइएको बताए । देशको अर्थतन्त्रको मूल आधार कृषि क्षेत्र भएको भन्दै ढकालले धानको महत्वलाई बिर्सन नहुने बताए ।