आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ९७औं जन्मजयन्ती

काठमाडौं :  नेपाली कम्युनिष्ट आन्दोलनका प्रणेता एवं नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज ९७औं जन्मजयन्ती।

वि.सं.१९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका श्रेष्ठको २०३५ साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ वि।सं। २००६ वैशाख १० मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए।

नेकपाको स्थापना कोलकाताको श्यामबजारमा पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो ।

राणा विरोधी आन्दोलनका शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत रहेका श्रेष्ठ दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणा बिरोधी आन्दोलनमा सक्रिय भएका थिए।

छोरा राजनीतिमा लागेकै कारण पिता भक्तलालल श्रेष्ठको सुब्बाको जागिर खोसिएको थियो। २०१७ सालमा तत्कालिन राजा महेन्द्रको कदम पछाडि पुष्पलालले भूमिगत निर्वासित जीवन विताएका थिए।

त्यसपछि २०२५ सालमा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सारेका थिए । सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार स्थापना गरेको छ ।

त्यस्तै पुष्पलाल मध्यपहाडी लोकमार्गसमेत निर्माण भइरहेको छ। स्मृति दिवसका अवसरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले विभिन्न कार्यक्रमहरु गर्दैछ।