सम्पादकीय : किसानलाई मल देऊ

नेपाल कृषि प्रधान मुलुक हो । यसमा कसैको दुई मत छैन । अहिले पनि नेपालका ६८ प्रतिशत भन्दा बढी जनता कृषिमा नै निर्भर रहेका छन् । नेपालीहरुको मुख्य पेशा कृषि नै हो । हरेक वर्ष मनसुन सुरु भएसँगै नेपाली किसानहरुले मल बीउको अभाव खेप्दै आएका छन् । यो उनीहरुका लागि नौलो विषय भने होइन । रासायनिक मल हाल्नु नेपाली किसानका लागि रहर भन्दा पनि बाध्यता भइसकेको छ । अनि धान रोप्ने बेलामा रासायनिक मल नपाउँदा किसानहरुले सास्ती खेप्दै आइरहेका छन् । मनसुन सुरु भएपछि किसानलाई मल उपलब्ध गराउने जिम्मा पाएको कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले विभिन्न वाहाना बनाउन थाल्छन् । मल ढिलो आउनुमा वर्षेनि कुनै न कुनै समस्या देखाउने जिम्मेवार निकायले यसपटक भने लक डाउनलाई दोष दिएका छन् ।
नेपालको कृषि भूमि बिग्रिसकेको छ । अत्यधिक रासायनिक मलका कारण यहाँको माटो बिग्रदै गएको छ । यहाँको कृषि योग्य भूमिमा रासायनिक मलको प्रयोग विना उत्पादन नै नहुने अवस्था सिर्जना भइसकेको छ । जसका कारण भविष्यमा नेपाली कृषि भूमि मरभूमिमा परिणत हुने देखिन्छ । रासायनिक मल बीउमा निर्भर नेपाली किसानलाई अबको विकल्प दिनु आवश्यक छ । अनुदानमा आउने युरिया, डिएपी, पोटास जस्ता मलहरु किसानले महङ्गो मूल्य तिरेर भए पनि खरिद गर्ने गरेका छन् । सहुलीयत रुपमा पाउने मललाई महङ्गो तिर्नु किसानहरुको बाध्यता हो । सरकारले सहज रुपमा मल उपलब्ध गराउँदै रासायनिक मलको विकल्पमा जानका लागि किसानलाई प्रोत्साहन गर्नुपर्छ । रासायनिक मलबाट हुने हानी तथा नोक्सानीबारे किसानलाई जानकारी गराउँदै प्राङ्गारिक मल उत्पादन तथा प्रयोगमा किसानको ध्यान केन्द्रीत गर्न सकेको अवस्थामा न त किसानको समस्या हुने थियो न त माटोको उत्पादकत्वमा नै ह्रास आउने थियो ।
नेपाली किसानलाई पर्याप्त मात्रामा मल बीउ उपलब्ध गराएर किसानहरुलाई व्यवसायिक बनाउनुपर्ने अहिलेको आवश्यकता हो । कृषिमा रहेको जनशक्ति अधिकांश समय लुप्त बेरोजगारको रुपमा रहेका हुन्छन् । जनका कारण उर्जाशील जनशक्ति खेर गइरहेको छ । किसानलाई सरकारले मल बीउ उपलब्ध गराउँदै व्यवसायिक बनाएको अवस्थामा थोरै व्यक्ति कृषिमा लागेर पनि धेरै उत्पादन हुन सक्छ । जसका कारण देशको अर्थतन्त्र बलियो समेत हुनेछ भने कृषकहरुको जीवनस्तरमा समेत परिवर्तन आउन थाल्नेछ । सरकारले कृषियोग्य भूमिको वर्गीकरण गर्दै सोही अनुसार मल, बीउमा अनुदान समेत उपलब्ध गराएमा किसानहरुमा समेत हौसला बढ्ने निश्चित छ । किसानलाई व्यवसायिक बनाउँदै जमिनको वर्गीकरण गरिएको अवस्थामा कृषिभूमिमा कृषि बाहेकका कर्म हुने छैनन् र उत्पादकत्वमा समेत व्यापक वृद्धि हुने छ ।