भरतपुर महानगरद्वारा पदक विजेता दश खेलाडी सम्मानित

भरतपुर । भरतपुर महानगरपालिकाले आफ्नो छैठौँ नगर सभाको अवसर पारेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने भरतपुरका खेलाडीहरुलाई सम्मान गरेको छ ।
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता तथा १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगितामा पदक प्राप्त गर्ने भरतपुर महानगरपालिकाका १० जना खेलाडीलाई महानगरपालिकाले नगदसहित सम्मान गरेको हो । महानगरपालिकाले सागमा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीलाई ७५ हजार रुपैयाँ, कास्य प्राप्त गर्ने खेलाडीलाई २५ हजार रुपैयाँ तथा राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीलाई ५० हजार तथा रजत जित्ने खेलाडीलाई ३० हजार रुपैयाँसहित सम्मान गरेको नगर प्रमुख रेनु दाहालले बताइन् । खेलाडीहरुको मनोबल उच्च पार्दै उनीहरुको सम्मानका लागि नगरसभाको अवसर पारेर खेलाडीहरुलाई सम्मानित गरिएको दाहालको भनाइ छ ।
शुक्रबार सम्पन्न नगरसभाको अवसरमा महानगरपालिकाले सागमा बक्सिङतर्फ स्वर्ण पदक विजेता भरतपुर १५ की मिनु गुरुङ र तेक्वान्दोमा स्वर्ण पदक विजेता भरतपुर १६ की संगीता बस्याललाई ७५ हजार रुपैयाँका दरलले सम्मान गरेको छ । त्यस्तै, भारतोलनमा कास्य विजेता भरतपुर ६ का कमलबहादुर अधिकारी, भरतपुर ७ का पुकार गुरुङ, भरतपुर १० का सन्देश गुरुङ र भारतोनका मुख्य प्रशिक्षक राम पौडेललाई २५ हजार रुपैयाँका दरले सम्मान गरेको दाहालले जानकारी दिइन् ।
त्यसैगरी, राष्ट्रिय खेलकूद प्रतियोगितामा लङजम्पतर्फ स्वर्ण पदक विजेता भरतपुर २७ का भुवन महतोलाई ५० हजार रुपैयाँसहित सम्मान गरिएको छ । राष्ट्रिय खेलकूदमा नै बक्सिङतर्फ रजत पदक प्राप्त भरतपुर २ का भूमिलाल श्रेष्ठ, भलिबलतर्फ रजत प्राप्त गर्ने भरतपुर २७ की आरती सुवेदी र भलिबलकै रजत पदक प्राप्त गर्ने भरतपुर २७ की रजना महतोलाई महानगरपालिकाले ३० हजार रुपैयाँसहित सम्मान गरेको छ । नगरसभाको बन्दसत्रका क्रममा महानगरपालिकाले विभिन्न क्षेत्रका उत्कृष्ट करदाता, कोरोना भाइरस रोकथामका लागि सहयोग गर्ने दाताहरु सहित कर्मचारीलाई समेत सम्मान गरेको छ ।