सेवा निवृत्त कराँते प्रशिक्षक लामाको बिदाई

चितवनः सेवा निवृत्त कर्मचारीलाई जिल्ला खेलकूद विकास समिति चितवनले बिदाई गरेको छ । उमेर हदका कारण सेवा निवृत्त भएका सितेरियो कराँतेका वरिष्ठ प्रशिक्षक गगन लामालाई मंगलबार बिदाई गरिएको हो । जिल्ला खेलकूद विकास समिति चितवन तथा जिल्ला खेलकूद विकास समिति चितवन कर्मचारी परिवारले लामालाई मंगलबार औपचारिक रुपमा बिदाई गरेको हो ।
२०५२ सालमा सेवा प्रवेश गरेका वरिष्ठ प्रशिक्षक उमेर हदका कारण मंगलबारदेखि नै सेवा निवृत्त भएका जिल्ला खेलकूद विकास समिति चितवनका कार्यालय प्रमुख रामजी ढकालले जानकारी दिए । कार्यक्रममा जिल्ला खेलकूद विकास समिति चितवनका निवर्तमान अध्यक्ष गंगालाल लामाले बिदाई भएर गएका कराँते प्रशिक्षक लामाको योगदानको चर्चा गरेका थिए । सेवा निवृत्त जीवनमा पनि समग्र खेलकूदको विकासमा लाग्न आग्रह गर्दै उनले कार्यकालमा भएको कामको सम्झना गरेका थिए ।
सेवा निवृत्त भएर गएका व्यक्तिहरुलाई समेत सम्मान गर्दै उनीहरुको भोगाइबाट अगाडि बढ्नुपर्नेमा लामाले जोड दिए । कार्यक्रममा बागमती प्रदेश खेलकूद परिषद्का सदस्य उत्तम गुरुङले आफूहरुले अभिभावकलाई बिदाई गर्दा दुख लागेपनि आगामी दिनमा समेत साथ पाउने अपेक्षा गरिएको बताए । अन्य जिल्लाहरुमा कराँतेमा फुट आएको अवस्थामा समेत चितवन जिल्लामा लामाको अग्रसरमा समग्र कराँते खेलाडीहरुमा एकता कायम राख्न सक्नु उनको महानता भएको गुरुङको भनाइ छ ।
तेक्वान्दो प्रशिक्षक पुष्पराज जोशीले समग्र प्रशिक्षकहरुको तर्फबाट मन्तव्य राख्दै लामालाई प्रेरणाको स्रोतको रुपमा लिएको बताए । लामाले सबै खेलका खेलाडी तथा प्रशिक्षकलाई समान रुपमा लिएर सकारात्मक सल्लाह तथा सुझाव दिने गरेको स्मरण गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा गरिएको बताए । एथलेटिक्स प्रशिक्षक कान्ती महतोको अध्यक्षतामा भएको बिदाई कार्यक्रमको सञ्चालन कार्यालय प्रमुख रामजी ढकालले गरेका थिए ।