स्रस्टा परिचय

कृष्णप्रसाद पोखरेल

१-नारी मुक्ति अधिकार
भन्दै गीत गाइ।
सकिनछु हक दिन
आफ्नै घरकिलाई ।।

यो आत्मस्वीकृति जनित पंक्ति कालो नैवेद्ध कविता सङ्ग्रह भित्रको हो।यस कृतिका रचनाकार कृष्णप्रसाद पोखरेल हुन् ।पोखरेलले यसको अतिरिक्त अन्य पुस्तकहरु पनि लेखेका छन् ।उनी श्री सर्व शान्ति माध्यमिक विद्यालय कुरिनटार चितवनमा लामो समय शिक्षण कार्यमा समर्पित भए।पोखरेल २०३०को दशकबाटै कविका रूपमा स्थानीय स्तरमा चिनिएका हुन् ।
२- कृष्णप्रसाद पोखरेलको जन्म २०१२सालको श्रावण २७ गते कृष्ण अस्टमीका दिन जन्मिएकाले हुँदा पोखरेलको नाम कृष्णप्रसाद राखिएको हो।पोखरेल एउटा सामान्य आर्थिक स्तर भएको परिवारमा जन्मिएका हुन् ।कृषि पेशाबाट भएको आम्दानीबाट नै उनको प्रारम्भिक शिक्षा -दीक्षामा टेवा पुगेको देखिन्छ ।पोखरेलले आइ ए सम्मको अध्ययन पुरा गरेका छन् ।उनले स्व-अध्ययनबाट प्राप्त गरेको ज्ञान समाजका लागि नै उपलब्धिको विषय बन्न पुगेको छ।
३-कृष्णप्रसाद पोखरेल नरम स्वभाव ,हसिलो अनुहार र गम्भीर भावका छन् ।भित्री रुपमा चाहिँ उनको मन अत्यन्त तीव्र भावावेग युक्त छ।उमेरमा साना वा ठुला सबैलाई समान व्यबहार गर्ने गर्दछन।उनको प्रतिभा र साधनाले आज उनलाई केन्द्रीय प्रतिभा को रुपमा परिचित तुल्याएको छ।आफ्नो हजुरबुबा हरिलालको काव्यिक पथ समातेर पोखरेल छ्न्द कविता रच्न रमाउने थाले। कवि पोखरेल रचना विधान मात्र नभएर सुरिलो स्वरले समेत श्रोतालाई मन्त्र -मुग्ध पार्दछन।छन्दमै दोहोरी खेल्न सक्ने कवि पोखरेल समवयीमा मात्र होईन पछिल्लो पुस्तामा समेत परिचित छन् ।
४- झन्डै पचास वर्ष लामो साहित्य साधनामा पोखरेलले साहित्य विषयक मात्र नभएर अन्य पुस्तकहरु पनि प्रकाशनमा ल्याएका छन् ।नेपाली मिति दर्पन (२०३३),विद्यालयमा लेखा संचालन तथा क्यालेन्डर निर्माण (२०६२)जस्ता पुस्तकाकार कृतिहरुले उनलाई थप परिचित तुल्याएको देखिन्छ ।विभित्र पत्र-पत्रिकामार्फत मार्फत उनले आफ्ना रचना सार्वजनिक गरिरहेका छन् ।अप्रकाशित थुप्रै रचना पाठकको नजिक आउन आतुर छन् ।पोखरेलले साहित्यका प्रायः सबै विधामा कलम चलाए पनि उनको साहित्यिक मूल्य किटान गर्न कविता विधा केलाउनु पर्ने हुन्छ।कविता भित्रै बाल सामग्रीको प्रकाशनमा समेत उनले महत्त्वपूर्ण योगदान दिएका छन् ।उनका प्रकाशित कविताहरु मध्ये अवसरवाद,समय,नाच्न नजान्ने,देश प्रेम,एकता ,मेरो फोटो ,शिक्षक आदि अत्यन्त चर्चित रहेका छन् ।
५-कृष्णप्रसाद पोखरेल साह्रै सरल र जनमैत्री कवि हुन् ।जीवनयात्राको निरन्तरतामा उनले आजीविकाको अतिरिक्त साहित्यमा महत्त्वपूर्ण योगदान दिएका छन् ।जीवनको ६६औ वसन्तमा यात्रारत पोखरेल पन्चायत ,राजतन्त्र विरोधी आन्दोलनमा सिर्जना र सडकबाट डटेर लागेका सर्जक हुन् ।उनका रचनाहरुमा सामाजिक न्यायको निम्ति आवाज बुलन्द गरिएको हुन्छ।अन्याय र अत्याचारको विपक्षमा लाग्न प्रेरित गर्ने हेतुले उनी प्रेरित गरिरहन्छ्न।मूलतः प्रगतिशील सोचले उनका रचना भरिएका छन् ।सरल शैलीमा सम्प्रेषण गर्न सक्ने योग्यता उनको रचनामा सन्निहित छ।उनी निरन्तर साहित्य लेखन ,सामाजिक सेवा र चिन्तन-मननमा सक्रिय छन् ।सादगी जीवन ,सहृदयी भाव र सहयोगी भावका धनी पोखरेलको साहित्य लेखन जस्तै जीवन पनि अनुकरण योग्य रहेको छ।

लेखक :  तेज विलास अधिकारी