“बेला बेलामा बाँच्ने मान्छे “

बिचार बिचारमा बाँडिएर
मान्छेहरू विवेक शुन्य भएको बेला।
ममताका मीठा वचनहरू
आफन्तका निष्कपट प्रेमहरू
लहलहाउँदै आँगनभरि फैलिरहँदा
निर्मम संत्रासभित्र बाँचेका अभिनय
गर्न सिकिरहेछन्।
जोखिममा पारेर अरूलाई
आफू जोगिने मरन्च्याँसे आँट लिएर
अट्टहासमा मातिरहेछन्
कति निर्बल हुदा रहेछन् मान्छेहरू
बिचार बिचारमा बाँडिएर विवेक शुन्य भएको बेला ।

बिहानीको शीतमा परेको घामको झुल्को बिर्सेर
मान्छेहरू उज्यालो मात्रै खोजीरहे
किल्ला ठोकेर अन्तरमनमा चक्रब्युह रच्दै रहे
निकास थुनेर बाटाहरूमा
गन्तब्यलाई छेक्दै रहे
सपना बाँडेर वर्तमान घाइते बनाउँदै मान्छे
आफैबाट स्खलित भैरहँदा
कति अश्लिल हुँदा रहेछन् मान्छेहरू
आस्था आस्थामा टुक्रिएर
आफैसित चोइटिरहेको बेला ।

ठिमाहा संस्कार भिरेर
नपुंसक पुस्ता कोरलीरहेका हामी
बाजेको नाम बिर्सदैं आफ्नो हात सुंघेर
पूर्षा प्रति गर्व गर्न सिकिरहेछौ;
अरूले लेखिदिएको इतिहासमा आफ्नो
पहिचान खोज्दा खोज्दै आफै प्रति
घृणा गर्न सिकिरहेछौ
एउटै मालामा गाँसिएर उनिएका
फुलहरूलाई चुँडेर रछान रछानमा
कसैले मिल्काइरहँदा
कति कायर र निमुखा भै टुलुटुलु हेरिरहँदारैछौं
जात जातमा बाँडिएको बेला ।

®️प्रभात कुमार जोशि