अपडेट : चितवनमा बँदेलको आक्रमणबाट तीनजना घाइते

सन्तकुमार चौधरी, चितवन : पूर्वी चितवनको रत्ननगर नगरपालिकामा बँदेलको आक्रमणबाट तीनजना घाइते भएका छन् । घाइते हुनेमा कालिका नगरपालिका–१ गडुवाचोक बस्ने ३२ वर्षका रन्जित श्रेष्ठ, रत्ननगर नगरपालिका–११ गैरिगाउँ बस्ने २५ वर्षीय कुमार परियार र १८ वर्षीय किरण परियार रहेका छन् ।

रन्जित श्रेष्ठको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ भने अन्य दुईजनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।रन्जित श्रेष्ठको अवस्था गम्भीर रहेको बताइएको छ । उनलाई बँदेलले बाटोदेखि झण्डै ३ मिटर परसम्म घिसारेर लगेको प्रत्यक्षदर्शी रामप्रसाद घिमिरेले जानकारी दिए । उनको पछाडीको डाढ र हातखुट्टामा गम्भीर चोट लागेको छ ।

बिहान सात बजेको समयमा जंगलसँग छउको बाटो भएर घरतर्फ आउने क्रममा बँदेलले आक्रमण गरेको हो । उनलाई आक्रमण गरेको २० मिनेटको फरकमा अरुदुई जनालाई बँदेलले आक्रमण गरेको बताइएको छ । खेतमा घाँस काट्ने क्रममा बदेलबाट आक्रमणमा परेका दुईजना कुमार परियारको खुट्टा र हातमा घाउँ भएको छ भने किरण परियारको शरीरमा चोट लागेको छ ।

रातको समयमा जंगलबाट निस्किएका जनावर खेतबारी हुँदै मानविय बस्तीमा प्रवेश गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् । घटनापछि जिल्लावन कार्यालयका प्रतिनिधि आएर घटनाको बारेमा अध्ययन गरेर मुचुल्का उठाउने काम गरेका छन् । जिल्लावन कार्यालयले चितवन राष्ट्रिय निकुञ्जलाई घटनाको बारेमा जानकारी गराउँनेछ । वन्यजन्तुबाट क्षति हुने विषयमा निर्देशीकाका आधारमा क्षतिपूर्ती दिइने खगेरी सव डिभिजन वन कार्यालयका रेन्जन विराज चौधरीले जानकारी दिनुभयो ।