लकडाउनले पर्यटन ठप्प हुदाँ हात्ती पाल्न मुस्किल, निकुञ्जको घाँस खुवाउन नरोकौँ (भिडियो)

राजेन्द्र आचार्य, चितवन : मुलुकको तेश्रो पर्यटकीय क्षेत्र सौराहामा रहेको घरपालुवा हात्तीलाई खाद्य संकट परेको छ । जसका कारण उनीहरु उचित खाना उपलब्ध गराउन नसकेको भन्दै व्यवसायहरुले हात्ती पाल्न संकट परेको गुनासो गरेका छन् । साथै उनीहरुले संकटापन्न वन्यजन्तुको सूचीको रहेका नीजि क्षेत्रबाट पालिएका हात्तीहरुको लागि चितवन निकुञ्ज भित्रको घाँस निरन्तर उपलब्ध गराउन माग पनि गरेका छन् ।
कोरोना कहरका कारण हात्ती सफारीमा प्रयोग हुदै आएका यि हात्तीहरुलाई खाना खुवाउन समस्या भएको र निकुञ्जको आडमै घाँस हुदाँ समेत आफुहरुले खुवाउन नपाएको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषी तिवारीले बताए । सौराहामा पर्यटनको ७० वटा हात्तीबाट हात्ती सफारी सञ्चालन हुदै आएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा उनले भिमकाय जनावर हात्ती जोगाउने व्यवसायीको यो अभियान सरकारी पक्षले पनि गम्भीर रुपमा ध्यान दिनुपर्ने तर्क गरे । लकडाउनपछि व्यवसाय ठप्प भो उनले भने, केहि समय त निकुञ्जले घाँस पनि दियो, तर लकडाउन बढिरहेको छ, तर एक्कासी घाँस रोक्दा समस्या भयो ।

व्यवसायीका अनुसार हात्तीले दैनिक २ सय ५० लिटरसम्म पानी २० किलो धान, २ सय ५० ग्राम ढिक्का नुन, एक केजी चना, मासिक दुई टेलर पराल खान्छ । सहकारीका व्यवस्थापक विनोद तिमल्सीनाका अनुसार माउते र फनित गरी दुई जना कर्मचारीलाई समेत गरी मासिक ७० हजार देखि १ लाख रुपैयाँसम्मको खर्च एउटा हात्तीमा हुने गर्दछ ।
लकडाउन बढिरहदाँ समस्या झन् बढ्दै गएको बताउदै अध्यक्ष तिवारीले अब पनि निकुञ्जमा फालिने घाँस नदिए हात्ती पाल्नै नसकिने बताए । हामी निकुञ्जबाट घाँस दिनुपर्छ भनेर धेरै पहिलेदेखि माग राखेका थियौँ उनले भने, हात्तीमैत्री सौराहा, र हात्ती विना सौराहको कलपना पनि गर्न सकिदैन् भनेर यसको संरक्षणसगैँ विभिन्न गतिविधि हामी गरेकै कारण पर्यटनमा नयाँ आयम थियो, तर अहिले त हात्ती अधिकारकर्मी समेत बोल्दैन् ।
कोरोना महामारीका कारण पर्यटन व्यवसाय ठप्प भएसँगै दाना, घाँस, परालको समेत अभावमा हात्तीको जीवन रक्षा मुश्किल भएको उनले बताए । ‘जनकौली सामुदायिक वन नजिक घाँस छ, निकुञ्जले काटेर फाल्छ, हामीलाई सीमा तोकेर हात्ती चराउन दिए हात्ती बाँच्थे’ उनले भने ।

अहिले लाखौँ खर्च गरि मेसिन लगाएर घाँस काटेर फाल्ने तर भिमकाय जनावरलाई घाँस खानाबाट लकडाउनमा रोक्ने यो कस्तो कानुन हो उपाध्यक्ष नगेन्द्र चापागाईले प्रश्न गरे । यहि कारण आफुहरु हात्तीको जीवन रक्षाका लागि मिडया मार्फत आउन बाध्य भएको उनले भनाई थियो ।

निकुञ्जले पुरानो पदमपुर नरकट फाँड्ने भन्दै हात्ती चराउन दिए पनि पछि रोकेको थियो । होटलमा आउने पर्यटकलाई वरपरका सामुदायिक वन क्षेत्रमा सफारीमा लैजाने हात्ती खाने कुराको अभावमा भोकभोकै पर्न थालेको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए । भट्टराईले सौराहा क्षेत्रका हात्तीहरुले पर्यटकलाई बाघमारा सामुदायिक बन, कुमरोज सामुदायिक बन र खोरसोर मध्यवर्ती बनहरु जाँदा घाँस खाने हुदाँ त्यो वेला हरियो घाँसको परिपूर्ती भएपनि हाल पर्यटन नै ठप्प हुदाँ समस्या झन बढेको बताए ।

एसियाली र अफ्रिकी गरी जम्मा दुई प्रजातिका हात्तीमात्रै हाल पृथ्वीमा रहेका छन् । एसियाली हात्ती नेपाललगायत एसियाका १३ देशमा करिब ३५ देखि ५० हजार छन् भने अफ्रिकी हात्तीको संख्या करिब ४ लाख छ ।

नेपालमा पाइने हात्ती एसियाली प्रजाति हो । यो प्रजातिका हात्तीको संख्या अहिले ३५ देखि ४० हजारमा सीमित छ भने नेपालमा चाहिँ करिब २ सय । यही गतिमा हात्तीको सिकार हुने र संरक्षणका उपाय नअपनाइए अबको १२ वर्षमा विश्वबाट हात्ती लोप हुने विभिन्न अध्ययनले देखाएका छन् । त्यसैले, पर्यटकमात्रै नभई वन्यजन्तुसँग सम्बन्धित हरेक अन्तर्र्रािष्ट्रय निकायको नेपालको हात्तीप्रति विशेष लगाव छ ।