चरणको अभावमा हात्ती संकटमा (भिडियो)

चितवनः हात्ती खुवाउने खाद्यान्न अभावका कारण सौराहाका हात्तीहरु जोगाउनै संकट भएको व्यवसायीहरुले गुनासो गरेका छन् । लक डाउनको समयमा हात्तीलाई चराउन नपाउँदा उनीहरुलाई खाद्य संकट पर्न थालेको युनाइटेड हात्ती सहकारी संस्थाका सदस्यहरुले बताएका छन् ।
कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव र चरण क्षेत्रको अभावका कारण पर्यटकीय क्षेत्र सौराहाका हात्तीहरु संकटमा परेका छन् । युनाईटेड हात्ती संचालन सहकारी संस्थाले बुधबार पत्रकार सम्मेलन गरी सौराहाका हात्तीहरु संकटमा परेको जानकारी दिएको हो ।

संस्थाका अध्यक्ष ऋषिराम तिवारीले चितवन राष्ट्रिय निकुञ्जको छेउछामा हात्तीहरुलाई चरीचरणको व्यवस्था भएकोमा त्यो कार्यमा पनि अकस्मात रोक लगाइदा सौराहाका हात्ती संकटमा परेको बताउनुभयो ।
सौराहामा हाल ७० वटा निजी हात्तीहरु रहेका छन् । हात्ती सफारी र जीप सफारीका लागि स्वदेशी तथा विदेशी पर्यटकहरु सौराहा आउने गरेका छन् । पर्यटन व्यवसाय ठप्प हुँदा हात्तीलाई दाना, घाँस, परालको समेत अभाव भइरहेको व्यवसायीहरुले जनाएका छन् । एउटा हात्ती पाल्नको लागि मासिक करिब एक लाख रुपैयाँसम्म खर्च हुने व्यवसायीहरु बताउँछन् ।