लेखनाथ आदर्श खेल मैदान कभर्ड हल निर्माण कार्य अधुरै महानगरको १ करोड फिर्ता जाँदै

पोखरा : पोखरा महानगरले पोखरा भण्डारढिक स्थित कभर्ड हल निर्माण कार्य सम्पन्न गर्न चालु आर्थिक वर्ष २०७६/०७७ मा विनियोजन गरेको बजेट टेण्डर कार्यान्वयनमा नआई फिर्ता जान लागेको छ ।

कभर्डहलको निर्माण कार्य सम्पन्न गर्न चालुु आवका लागि छुट्टाइएको उक्त रकम खर्च गर्न महानगरले कुनै तदारुकता नदेखाएको र विगत ४ वर्ष देखि निर्माण सम्पन्न हुने पर्खाईमा रहेको अधुरै रहने भएको हो ।

पोखरा कै दोश्रो ठुलो कभर्ड हल निर्माण गर्न राष्ट्रिय खेलकुद परिषदले २०७३ साल बाट काम थाले पनि ४ वर्ष वितिसक्दा समेत अधुरै रहेको छ । तर चालु आवमा नै गण्डकी प्रदेशका लागि संघिय सरकारको युवा तथा खेलकुद मन्त्रालयबाट प्राप्त २५ लाख र गण्डकी प्रदेश सांसद दिपक कोइरालाको सांसद बिकास कोषबाट समेत २५ लाख गरि ५० लाखको लागतको निर्माण कार्य भने यतिबेला शुरु भएको छ ।

आगामी फागुन २० देखि २७ गते सम्म पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि समेत महत्वपुर्ण रहने यो कभर्ड हल निर्माण सम्पन्न गर्न आवश्यक रहेपनि बजेट अभावका कारण थाती रहँदै आएको आदर्श युवा क्लवका अध्यक्ष लक्ष्मण भण्डारीले बताए । “चालु आर्थिक वर्षमा महानगरको बजेट कार्यान्वयन समेत नभई फिर्ता जाने निश्चित भए पनि सांसद विकास कोष र मन्त्रालय बाट प्राप्त रकम बाट काम शुरु गरेका छौं, भण्डारीले भने ।

दुवै तर्फको रकमका लागि दुई छुट्टा छुट्टै उपभोक्ता समिती बनाएर निर्माण सम्पन्न गर्न लागेको अध्यक्ष भण्डारीले बताए । सांसद विकास कोष बाट खर्च हुने रकमका लागि स्वय भण्डारी अध्यक्ष छन भने युवा तथा खेलकुद मन्त्रालयको तर्फ प्राप्त रकमका लागि सुवाष खडका अध्यक्ष हुन । खडका फुल कन्ट्याक्ट करातेका स्वयसेवी प्रशिक्षक समेत हुन । दुवै तर्फको रकम प्राप्त गर्न १०–१० प्रतिशत रकम जनसहभागिता रहनुपर्ने प्रावधान रहेको छ । “हामी संग रकम त थिएन” अध्यक्ष भण्डारीले भने–“तर प्रावधान नै त्यस्तो छ अहिले ५ लाख टाउकोमा बोकेर काम गर्न लागेका छौ ।” प्राप्त दुवै ठाउँका बजेट स्थानिय निकाय मार्फत प्राप्त हुने भएकोले पनि जनसहभागिताको प्रावधान रहनु पर्ने वाध्यात्मक अवस्था रहेको छ ।

प्राप्त रकम बाट कभर्ड हलको कम्पाउण्डिङ वाल, सोलिङ र ढलान गर्न लागिएको अर्का अध्यक्ष खडकाले जानकारी दिए । “दुवै तर्फको ५० लाखको काम त सक्छौ तर ट्रष्ट भने हुनेछैन” उनले भने–“ट्रष्ट विनाको कभर्ड हल निर्माण हुनेछ ।” आव २०७२/०७३ मा राष्ट्रिय खेलकुद परिषदले ५५ लाखको लागतमा कभर्डहल निर्माण कार्य शुरु गरेको थियो भने गत वर्ष गण्डकी प्रदेश सरकारले ११ लाख खर्चिएको थियो । कुल ३ करोड ५० लाखको लागतमा निर्माण सम्पन्न हुने लक्ष्य लिइएपनि हाल सम्म १ करोड २० लाख मात्रै खर्च गरिएको छ । कभर्ड हलमा प्यारापिट र ट्रष्टका लागि भने महानगर, प्रदेश सरकार वा मन्त्रालयको मुख ताक्नुपर्ने अझै वाध्यता रहेको छ ।

यता पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका इन्जिनियर प्रनिश ताम्राकारले उक्त कभर्ड ३४ मिटर लम्वाई र २० मिटर चौडाई रहेको बताए । कभर्ड हलमा ४ वटा व्याडमिन्टन कोर्ट बनाउन मिल्छ भलिवल र बास्केटबल समेत खेल्न र मार्शल आर्टका सबै खेलहरु मिल्ने गरि निर्माण गर्न लागिएको उनले बताए । “इष्टिमेट गरिएको रकम एकै पटक नआउँदा जसरी बजेट प्राप्त हुन्छ त्यही अनुसार निर्माण कार्य जारी रहेको छ” उनले भने । यो कभर्ड हल निर्माण सम्पन्न भएमा नवौ राष्ट्रिय खेलकुदका लागि खेलहरु आयोजना गर्न सहज हुने पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीले बताए ।