नेपालमा १५ हजार जनामा कोरोना संक्रमण हुन सक्छ : विज्ञ

नेपालमा कम्तीमा १५ हजार जनालाई कोरोना संक्रमण हुन सक्ने अनुमान स्वास्थ्य क्षेत्रका एक सरकारी अधिकारीले गरेका छन्।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले शनिबार बिहान नेपालखबरसँग कुरा गर्दै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार पुग्न सक्ने आकलनाका साथ तयारी भइरहेको जानकारी दिएका हुन्।

‘हामीले अहिलेसम्मको अवस्था हेर्दा १५ हजार जनालाई संक्रमण हुन सक्ने अनुमान गरेका छौं,’ डा. पाण्डेले भने, ‘त्यहीअनुसार सरकारले तयारी गरेको छ।’

विश्वको कूल जनसंख्याको ०.०५ प्रतिशत मानिसलाई कोरोना संक्रमण भएको पाइएकाले नेपालमा पनि सोही आधारमा १४ हजार ८ सय ९८ जना कोरोना संक्रमित हुन सक्ने स्वास्थ्य मन्त्रालयले प्रक्षेपण गरेको हो।

संक्रमण बाहिरी मुुलुकबाटै भित्रिरहेकाले अहिले विदेशबाट नेपाली फर्काउने क्रम सुरु भएकाले अझ संक्रमणको सम्भावना बढेर जाने डा. पाण्डेकाे भनाइ छ। नेपालमा अहिलेसम्म संक्रमितकाे संख्या २९ सय कटेकाे छ।