कोरोनाका कारण डोल्पामा पनि एक व्यक्तिको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ। डोल्पामा २ दिनअघि मृत्यु भएका व्यक्तिकाे स्वाब परीक्षणको रिपोर्ट कोरोना पोजिटिभ आएपछि मृतकको संख्या १२ पुगेको हो।

यसअघि काेराेनाबाट नेपालमा ११ जनाकाे मृत्यु भइसकेकाे पुष्टि स्वास्थ्य मन्त्रालयले गरिसकेकाे छ।

डोल्पा जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायण रञ्जितकारका अनुसार यही जेठ २१ गते मृत्यु भएका जगदुल्ला गाँउपालिका-३, थापागाउँका ५८ वर्षीय पुरुषको पीसीआर रिपोर्ट काेराेना भाइरस पोजिटिभ आएको हो।

‘उनको मृत्यु भएपछि शंका लागेर उनीसहित उनको स्याहारसुसारमा खटिएका उनकी पत्नी र भाइ गरी ३ जनाको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो,’ डीएसपी रञ्जितकारले शनिबार दिउँसो टेलिफोनमा नेपालखबरसँग भने, ‘तीमध्ये मृतकमा कोरोना पोजिटिभ आएको जानकारी प्रतिष्ठानले गराएको हो।’

उनका पत्नी र भाइकाे रिपाेर्ट भने नेगेटिभ अर्थात् काेराेना नरहेकाे आएको उनले जानकारी दिए।

डीएसपी रञ्जितकारका अनुसार ती व्यक्ति दमका दीर्घरोगी थिए। उपचारका लागि सुर्खेत गएका उनी जेठ १८ गते गाउँ फर्किएका थिए। त्यसपछि घरमै क्वारेन्टिनमा बसेका बेला जेठ २१ गते बिहान ९ बजे उनको मृत्यु भएको हाे।

नेपाल खबरबाट