नेपाल सरकारको निर्देशन पालना गर्न कटिवद्ध छौँ’

काठमाडौं : नेपाली सेनाले नेपालको संविधानअनुरुप सरकारको निर्देशन पालना गर्न कटिवद्ध रहेको जनाएको छ।

सेनाले विज्ञप्ती जारी गर्दै भारतीय सञ्चारमाध्यममा प्रकाशित खबरप्रति कडा आपत्ती जनाउँदै त्यस्ता अफवाहमाथि विश्वास नगर्न आग्रह गरेको छ ।

नेपाली र अंग्रेजी भाषामा प्रकाशित विज्ञप्तीमा भारतीय हिन्दुस्तानटाइम्स डट कम र टीएफआइपोष्ट डट कममा प्रकाशित खबरको खण्डन गर्दै भनिएको छ, ‘उक्त भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरूबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्याउने उद्देश्यबाट प्रेरित देखिन्छ।’

हिन्दुस्तान टाइम्सले जेठ १४ गते ‘इन ह्युज सेटब्याक टु पीएम ओली, नेपाल्स न्यु पोलिटिकल म्याप हिट्स अ रोडब्लक’ शीर्षक तथा टीएफआइपोष्टले जेठ १५ गते ‘ओली अर्डर नेपाल चिफ अफ आर्मी टु रिबुट इन्डियन आर्मी चिफ्स रिमार्कस्, द नेपलिज जेनरल सेड नो थ्याङ्क्स’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो ।

दुवै समाचार हालै लिपुलेक विवादको सन्दर्भमा भारतीय स्थल सेनाध्यक्ष एमएम नरवणेले नेपालबारे दिएको आपत्तिजनक अभिव्यक्तिसँग सम्बन्धित देखिन्छन् । बिहीबार राति विज्ञप्ति निकालेर नेपाली सेनाले यी समाचारप्रति ध्यानाकर्षण भएको र यी समाचार भ्रामक दुरासयपूर्ण काल्पनिक र निराधार रहेको स्पष्ट पारेको हो ।