रूकुम पश्चिमको नरसंहारमा मृत्युवरण भएकालाई साँस्कृतिक शहिद घोषणा गर्न माग

 

चितवन : “गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ यो देशको मुहार फेर्नलाई उठ” भनेझैँ रूकुम पश्चिममा भएको मानव नरसंहारको विरोधमा आज शुक्रबार भरतपुर १५ मंगलपुरस्थित शान्तिपूर्ण विरोध र्याली र सभा सम्पन्न गरिएको छ ।

संयुक्त दलित संघर्ष समिति मंगलपुरको आयोजनामा भएको विरोध कार्यक्रममा हत्यारालाई फासी दे, जातीय भेदभाव अन्त्य गर, मान्छे मार्न पाइँदैन, घटनाको निष्पक्ष छानविन गर, मृतकलाई शहिद घोषणा गर लगायतका नारा सहितको प्ले कार्ड प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा नेपाल दलित साहित्यिक तथा साँस्कृतिक प्रतिष्ठानका केन्द्रीय संयोजक एवम् दलित अधिकारकर्मी रणेन्द्र बरालीले न्यायिक रूपमा घटनाको निष्पक्ष छानविन गर्न सरकारलाई अनुरोध गरेका छन् । उनले घटनामा मृत्युवरण भएकाहरूलाई साँस्कृतिक शहिदको घोषणा गर्न माग गरेका छन् ।

कानुनी राज्य भएर पनि दलित समुदायको लागी न्यायिक कानुन नभएकोले नेपालको संविधानमा दलित समुदायको हक अधिकार सम्बन्धी अझ शसक्त कानुन निर्माण गर्न दलित समुदायबाट संघिय सभा, प्रदेश सभामा सहभागी भएका सांसदहरूलाई दलित अधिकारकर्मी अतिना परियारले आजको विरोध सभा मार्फत ध्यानाकर्षण गर्नुभएको छ । उनले रूकुम पश्चिम घटनाको घोर विरोध गरेकी छिन् ।

त्यस्तै दलित अभियन्ता टिबि विश्वकर्मा हिमालले घटनालाई ढाकछोप गर्न वर्तमान सरकार पनि शसक्त भएर लागेको आरोप लगाउनु भयो । त्यसैले सम्पूर्ण दलित नागरिक समूहहरूलाई आआफ्नो ठाउँबाट विरोध गर्न समेत अनुरोध गरेका छन् ।