चितवनमा तिन जिल्लाका गरि सात जना कोरोना संक्रमितको उपचार हुँदै

चितवन : चितवनमा तिन जिल्लाका गरि सात जना कोरोना संक्रमितको उपचार हुँदैछ । पूर्वी नवलपरासी (नवलपुर) को देवचुली नगरपालिका–१ का १९ वर्षीय युवकमा बुधवार बेलुका अबेर प्राप्त परीक्षण रिपोर्ट अनुसार कोरोना पुष्टि भएको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले  बताए ।
युवकको मंगलवार स्वाब परीक्षणको लागि नमुना पठाईएको उनले जनाए । उनका अनुसार ती युवक जेठ १० गते भारतको हरिद्वारबाट आएर देवचुली नगरपालिकाको क्वारेनटाईनमा बसेका थिए ।
बिहिवार बिहानै उनलाई भरतपुर कोराना विशेष अस्थायी अस्पतालको आइसोलेसन वाडमा ल्याईएको उनले बताए । त्यस्तै, हेटौंडा उपमहानगरपालिका १ कि २५ वर्षीया गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बुधवार भरतपुर अस्पताल ल्याईएको सुचना अधिकारी पौडेलले
जानकारी दिए । मंगलवार हेटौंडास्थित किटजन्य अनुसन्धान प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । उनी र श्रीमान भरतपुर –१२, हुलाक चोकमा डेरा गरी बस्दै आएको खुल्न आएको छ । उनीहरू जेष्ठ ९ गते भरतपुरबाट हेटौंडा गएका थिए । त्यस घरमा घरबेटीका तीन जना परिवार पनि बस्दै आएका थिए ।
त्यो घर सिल गरिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले बताए । गर्भवती महिला सहित अहिले पूर्वी नवलपरासी (नवलपुर) का तिनजना पुरूष र भरतपुर महानगरपालिका वडा नं. ६ का एकै परिवारका ३ जना सदस्य सहित जम्मा ७ जना कोरोना संक्रमितको चितवनमा उपचार भइरहेको भरतपुर अस्पतालले जनाएको छ ।
संक्रमित पूर्वी नवलपरासी (नवलपुर) को देवचुली नगरपालिका–१२ का ४९ वर्षिय पुरूष र देवचुली नगरपालिका–१ का १९ वर्षीय युवक, सोहि जिल्लाको विनय त्रिवेणी गाउँपालिका ६ का ४५ वर्षिय पुरुष र भरतपुर महानगरपालिका वडा नं. ६ का ५२ वर्षिय पुरूषको भरतपुर कोराना विशेष अस्थायी अस्पतालको आइसोलेसन वाडमा उपचार भइरहेको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले बताए । त्यस्तै, भरतपुर महानगरपालिका वडा नं. ६ का ७४ वर्षीया वृद्धा, उनको ७३ वर्षिया श्रीमती र हेटौंडा उपमहानगरपालिका १ कि २५ वर्षीया गर्भवती महिलालाई भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको उनले बताए ।
हेटौंडाकी २५ वर्षीया गर्भवती महिला बाहेक संक्रमित अरू छ जना भारतबाट केही समयअघि नेपाल आएको पाईएको उनले जनाए । सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको भरतपुर अस्पतालका कोभिड-१९ क्लिनिकल संयोजक डा. प्रमोद पौडेलले जानकारी दिए ।  यसअघि पूर्वी चितवनको राप्ति नगरपालिका–८, निवासी कोरोना भाइरस (कोभिड–१९) संक्रमित २७ वर्षीय पुरूष वैशाख १३ गते र ६३ वर्षीया महिला वैशाख ३१ गते निको भएर घर फर्किसकेका छन् । उनीहरू एकै परिवारका आमा–छोरा हुन ।
उनीहरूको भरतपुर अस्पतालको आइसोलेसन वार्डमा रहेको क्याविनमा राखेर उपचार गरिएको थियो । चैत ३ गते बेलायतबाट नेपाल आएका उनीहरू चैत ५ गते सार्वजनिक यातायात मार्फत काठमाडौंदेखि चितवन घरसम्म आएका थिए । उनीहरूमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षण रिपोर्टको आधारमा वैशाख ५ गते स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण भएको पुष्टि गरेको थियो ।