पोखरामा बाहिरबाट तरकारी र फलफूल ल्याउन रोक लगाइने

पोखरा : कोरोना संक्रमण रोक्न भन्दै पोखरा महानगरपालिकाले जिल्लाभन्दा बाहिरबाट ल्याउने तरकारी तथा फलफूलमा रोक लगाउने निर्णय गरेको छ ।

महानगरको कोरोना संक्रमण रोकथाम मूल समितिको शनिबार बसेको बैठकले बाहिरबाट ल्याइने तरकारी तथा फलफूल पोखरा भित्रिन नदिने निर्णय गरेको हो ।

समितिका सदस्य सचिव किरण कोइरालाले बाहिरबाट ल्याइने तरकारीबाट कोरोना संक्रमण फैलिने डर भएकाले महानगरले भित्रिन नदिने निर्णय गरेको सुनाए ।

‘भारतबाट तरकारी आइराख्या छ । यसबाट पोखरामा कोरोना फैलिने डर भयो,’ उनले भने, ‘पोखरा अहिले उच्च जोखिमको अवस्थामा छ । ग्रिन जोन नै कायम राख्न यो पहल अघि सारेका हौं ।’

बाहिरबाट कास्कीमा भित्रिने तरकारी केही दिन रोक्दामात्रै पनि कोरोना फैलनबाट बच्न सकिने दाबी कोइरालाको छ । उनले भने, ‘तरकारी र फलफुलबाट कोरोना फैलिने सम्भावना बढी देखियो । कम्तीमा केही दिन आयात पूर्ण रुपमा रोक लगाउन सकियो भने कोरोना संक्रमणबाट पोखरेलीलाई बचाउन सकिन्छ ।’