कारोना प्रभाव : चितवन जिल्ला अदालतकाे म्याद थप अब भिडियाेबाटै

चितवन : हाल विश्वमा महामारीको रुप लिएको कोरोना भाइरस (काेभिड १९) संक्रमणको जोखिमका कारण अदालतमा उपस्थित गराउनुपर्ने अभियुक्तलाई समेत श्रव्यदृश्यमार्फत उपस्थित गराउन थालिएकाे छ ।

काेराेना संक्रमण सजिलै एकअर्कालाई सर्ने भएकोले जाेखिम न्यूनीकरण गर्ने अभिप्रायले चितवन जिल्ला अदालतको निर्देशनमा जिल्ला प्रहरी कार्यालय चितवन एवं मातहतका मुद्दा चल्ने प्रहरी कार्यालयहरुमा याे काम सुरू गरिएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

यसअन्तर्गत अनुसन्धानको क्रममा प्रहरी हिरासतमा राख्नुपर्ने अभियुक्तहरुलाई म्याद थपका लागि अदालत नलगी प्रविधिको प्रयोग गरी प्रहरी कार्यालयबाटै श्रव्यदृश्यमार्फत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण काेइरालाले जानकारी दिए ।  आज पहिलाे दिन जिल्ला र मातहतका विभिन्न कार्यालय गरी ४ जना अभियुक्तकाे अनुसन्धानका लागि म्याद थप गरिएकाे काेइरालाले जानकारी दिए ।