रोबोट टिभी एङ्कर चीनमा, मानिसकै जस्तो हाउभाउमा समाचार भन्ने

एजेन्सी । चीनको सरकारी समाचार एजेन्सी सिन्हुवाले आर्टिफिशियल इन्टेलिजेन्स (एआई) युक्त एक थ्री–डी समाचार वाचिका सार्वजनिक गरेको छ । उसको नाम जिन जिओवेइ दिइएको छ । यो समाचार वाचिका सिन्हुवा र चिनियाँ सर्च इन्जिन सोगोउको संयुक्त प्रयासमा विकसित गरिएको हो ।

यो थ्री–डी समाचार वाचिका (एङ्कर) रियल लाइफ रिपोर्टर झाओ वानवेइको थ्री–डी अवतार हो । झाओको अनुहारको हाउभाउ, बोल्ने तरिकाहरु र गतिविधिहरुको गहिरो अध्ययन गरी उनको थ्री–डी अवतार तयार गरिएको हो ।

कम्पनीका अनुसार एआई युक्त यो एङ्कर मानिसहरु जसरी आवाज निकाल्दछ र अनुहारको हाउभाउ पनि बदल्छ । शब्दको उच्चारणको हिसाबमा उसको ओठ चल्ने गर्दछ भने न्यूजलाई पुरै हाउभाउका साथ समाचार वाचन गर्दछ । यसको अर्को अनौठो कुरा के भने उसले आफ्नो कपालको स्टाइल बदल्ने र कपडा पनि फेर्ने गर्दछ ।

सिन्हुवाले यो भन्दा अघि सन् २०१८ मा पनि यस्तै डिजिटल एङ्कर तयार गरेको थियो । त्यतिखेर उसले एक मेसिन लर्निङ्गमा आधारित डिजिटल एङ्कर बनाएको थियो । यो भन्दा पनि अघिल्लो वर्ष सिन्हुवाले रुसको समाचार संस्था आईटीएआर–टीएएसएससँगको सहकार्यमा रुसी भाषाको एङ्कर बनाएको थियो ।

उक्त एङ्कर चीन र रुसको राजनीतिक सम्बन्धको ७० औं वर्षगाँठका अवसरमा लञ्च गरिएको थियो । अब सिन्हुवाले एआई युक्त एङ्कर बनाएको छ । एआई युक्तको अर्थ उसले सोच्ने, बुझ्ने र निर्णय लिने क्षमता राख्ने भन्ने हो ।