संसदको लोगोमा भएको नेपालको नक्सा परिवर्तन गरिने

काठमाडौ : संघीय संसदको लोगो नेपालको नयाँ नक्सा अनुसार परिवर्तन गरिने भएको छ । कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो ।सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदको प्रतीक (लोगो) र प्रतिनिधिसभाका माननीय सदस्यहरुले प्रयोग गर्दैै आएको प्रतीकलाई नेपालको वास्तविक सीमा अनुरुपको नक्सा अनुसार परिमार्जन गर्ने निर्णय गरेको  सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

सिंहदरबारमा बसेको उक्त बैठकको निर्णय अनुसार रोस्ट्रममा राखिएको प्रतीक (लोगो)  र माननीय सदस्यहरुले लगाउँदै आएको प्रतीक परिमार्जन हुने छ । बैठकले सो निर्णय कार्यान्वयन गर्न तत्काल प्रक्रिया अघि बढाउन संघीय संसद सचिवालयलाई निर्देशन दिएको छ ।