राप्तीमा छाडिएको गोही कलकत्ताकाे हुग्दीमा

चितवन : चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसराबाट राप्ती नदीमा छाडिएको एउटा घडियाल गोही भारतको कलकत्ता नजिकै हुग्दी नदीको चाकाडा भन्ने ठाउँमा फेला परेको छ ।

निकुञ्जको गोही प्रजनन केन्द्रको जिम्मेवारी सम्हाल्दै आउनुभएका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार गत चैत ४ गते राप्तीमा छाडिएको सो गोही एक हजार ६२ किलोमिटर टाढा सो नदीमा पुगेको हो । यही जेठ ४ गते माछा मार्ने क्रममा जालमा गोही फेला परेको उहाँले जानकारी दिनुभयो ।

सो गोही राप्ती नदीबाट नारायणी नदी, गण्डक हुँदै कोशी पार गरेर हुग्दी पुगेको उहाँको भनाइ छ । गोही छोड्दा राखिएको नम्बरका आधारमा यहीको गोही भएको पहिचान गरिएको हो ।

उहाँका अनुसार विसं २०७१ जेठमा फूलबाट कोरलिएको सो गोही नदीमा छोड्दा ६८७ नम्बर राखिएको थियो । २ दशमलव ६ मिटर लामो सो गोही २६ किलोको थियो । पुच्छर काटेर नम्बर लगाएकाले गोहीको पहिचान गर्न सजिलो भएको हो ।

एउटा पहिचान भएको तस्वीर र त्यहाँका स्थानीय सञ्चारमाध्यमको समाचारसमेत प्राप्त भएको र अरु १० गोही सोही क्षेत्रमा रहेको हल्ला चलेको भए पनि आधिकारिक जानकारी आइनसकेको उहाँले बताउनुभयो ।

विश्वमा नै शङ्कटापन्न अवस्थामा रहेको घडियाल गोही गङ्गा र आसपासका नदीमा मात्र पाइने गर्छ । नेपालमा हरेक वर्ष नदीमा गोहीको फूल सङ्कलन गरी बच्चा कोरलेर हुर्काएर नदीमा छाड्ने गरिएको छ । यद्यपि गोही गण्डक को ब्यारेज कटेर भारततर्फ जाने क्रम बढेका छ । उहाँ भन्नुहुन्छ, “प्रकृति र वन्यजन्तुलाई देश मतलव हँुदैन सबै एकैनास हुने गर्छ ।”

यहाँ प्रजननका लागि फागुनपछि माछा नेपालतर्फ भारतबाट आउने गर्छन् । नेपालका नदी र खोल्सामा प्रजननपछि भदौतिर फेरि भारतीय नदीतर्फ फर्कने गरेको उहाँको भनाइ छ ।

विश्वबाट नै लोप हुन लागेको घडियाल गोहीलाई निकुञ्जको कसरामा रहेको प्रजनन केन्द्रमा हुर्काएर हरेक वर्ष नदीमा छाड्ने गरिएको छ । नदीमा छाडिएकामध्ये राप्तिमा मात्र हालसम्म ८३५ गोही छाडिएको उहाँले जानकारी दिनुभयो ।

निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० वटा गोही छोडिसकिएको छ । पछिल्ला वर्षहरुमा राप्तीमा मात्रै गोही छाडिने गरिएको छ । नदीमा गोही छोड्दै गए पनि सङ्ख्या बढ्दै जान भने सकेको छैन । पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् ।

सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो । नदी प्रदूषण बन्दै जाँदा सङ्कटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिएको छ ।