कोरोनाबाट मृत्यु भएकी महिलाको परिवार डिस्चार्ज

काभ्रेपलाञ्चाेक : जिल्लाको धुलिखेल अस्पतालमा कोरोनाभाइरस संकेमणबाट मृत्यु भएकी महिलाका आफन्तहरु आज (शुक्रबार) डिस्चार्ज भएका छन् । मृतक महिलाको बच्चा, उनकी बहिनी, श्रीमान र सासुलाई डिस्चार्ज गरिएको धुलिखेल अस्पतालका प्रशासकीय अधिकृत डा. रमेश माकजूले जानकारी दिनुभयाे । उहाँका अनुसार नवजात शिशुमा जण्डिस र राता बिमिरा उठेको भएपनि बाल रोग विशेषज्ञबाट उपचार गराएपछि निको भएको थियो।

दुईपटक परीक्षण गर्दा पनि कोरोना संक्रमण नदेखिएपछि शुक्रबार डिस्चार्ज गरिएको माकजुले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिए । उक्त विज्ञप्तिमा थप एकसाता सिन्धुपाल्चोक जिल्लाको क्वारेन्टाइनमा राख्नुपर्ने र पुनः आरडीटी परीक्षण गर्नुपर्ने सुझाव दिइएको छ ।

सिन्धुपलाञ्चोक जिल्लाको बाहृबिसे नगरपालिकाकी महिलाको उपचारका क्रममा जेठ १ गते राति साढे नौ बजे मृत्यु भएको थियो । सुत्केरी महिलाको मृत्युपश्चात कोरोना परीक्षण गर्दा संकेमण पाेजेटिभ देखिएकाे थियाे ।