स्याङ्जामा मृतकसहित १७ जनाको पीसीआरका लागि पोखरा पठाइयो

स्याङ्जा : स्याङजा आएका एक व्यक्तिको आरडिटी पोजिटिभ देखेपछि उनीलगायत जिल्लाबाट अन्य १७ जनाको स्वाब संकलन गरी परिक्षणका लागि पोखरा पठाइएको छ।

भारतबाट गृहजिल्ला भित्रिएका एक जनामा आरडिटी पोजिटिभ देखिएपछि स्वास्थ्य कार्यालयले पीसीआर कोरोना परीक्षणको दायरा बढाएको हो।

गण्डकी प्रदेश र प्रदेश ५ को सीमा नाका राम्दीमा गरिएको आरडिटी परिक्षणमा भारतबाट आएका ११ मध्ये १ मा कोरोना परिक्षण आरडिटी पोजिटिभ देखिएको थियो।

यसैगरी, केही दिन भारतबाट आएर वालिङका क्वारेन्टाइनमा बसेका ६ जना र भीरकोटका क्वारेन्टाइनमा बसेका ९ जनाको पनि नमूना स्वाब संकलन गरी परिक्षणका लागि पोखरा पठाइएको स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले जानकारी दिए।

यसैगरी, बिहीबार राती मृत अवस्थामा जिल्ला अस्पताल स्याङजा पुर्याएका एक व्यक्तिको पनि नमूना स्वाब संकलन गरी पोखरा पठाएको अस्पतालले जनाएको छ।
उनी केही दिनदेखि ज्वरोका बिरामी भएका कारण उनको स्वाब परीक्षणका लागि पोखरा पठाएको अस्पतालले जनाएको छ।

उनीहरु सबैको कोरोना भाइरस संक्रमण भएरनभएको पुष्टि गर्न पीसीआर टेष्टका लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाएको हो।