कोरोनाको मार : गण्डकी प्रदेशलाई पर्यटनमा १० अर्ब घाटा अनुमान

कास्की : कोरोना भाईरस संक्रमणको त्रासले मुलुक लकडाउन भएको दुईमहिना पुगेको छ । कोरोनाबाट पर्यटन क्षेत्र प्रभावित हुन थालेको त झन्डै पाँचमहिना पुग्न थाल्यो । यो अवधिमा पर्यटन क्षेत्रले अर्बाै रुपैयाँ नोक्सान बेहोरेको र अझै केहीमहिना घाटा बेहोर्नुपर्ने अवस्था रहेको व्यावसायीले बताईरहेका छन् ।

बाहिरबाट झट्ट हेर्दा कोरोना संक्रमणको असर पर्यटनका ठुला सहर, घराना  र ‘चेन बिजनेस’लाई मात्र परेको हो कि भन्ने कतिपयलाई लाग्न सक्छ, तर यसको असर तल्लो तहसम्म पनि परेको छ । तल्लो वर्गमा परेको त्यो असरबारे खासै चर्चा हुँदैन, किनभने तल्लो वर्गको आवाज कमै सुनिन्छ । पर्यटनमा योगदान दिएका तर चर्चामा कमै आउने ती व्यावसायिक क्षेत्रले पनि कोरोनाको मारले ठुलो घाटा बेहोरेको व्यावसायीको भनाई छ ।

कोरोनाको यही असर पत्ता लगाउन अहिले गण्डकी प्रदेश सरकारले गहिरिएर अध्ययन थालेको छ । त्यसका लागि प्रदेश सरकारले बनाएको पर्यटन पूर्नउत्थान सुझाव समितिले अहिले अध्ययन गरिरहेको छ । समितिका सदस्य टिकाराम सापकोटाले कोरोनाका कारण गण्डकी प्रदेशले झन्डै १० अर्ब रुपैयाँको नोक्सान बेहोर्नुपर्ने अनुमान गरेको बताए ।

‘हुन त अहिले अध्ययन भईरहेको छ । तर, कोराना संक्रमणको कारण गण्डकी प्रदेशले मात्र पर्यटनमा झन्डै १० अर्ब रुपैयाँ नोक्सान बेहोर्ने अनुमान छ,’ पर्यटन बोर्डका पूर्व सदस्य समेत रहेका सापकोटाले भने, ‘यो अनुमानित नोक्सानको आँकडा हो । तर, घाटा अझै बढ्नसक्छ । किनकी कोरोनाको त्रास र लकडाउन कहिलेसम्म चल्छ भन्ने निश्चित छैन ।’

प्रदेश सरकारको यो समितिले पर्यटन क्षेत्रको तल्लोतहसम्म पुगेर अध्ययन गरिरहेको उनले बताए । पर्यटनको कुरा गर्दा अरुबेला पोखराका होटल, रेस्टुरेन्ट, ट्राभल, ट्रेकिङको मात्र बढी चर्चा हुने भएपनि यो समितिले भने पर्यटनसँग जोडिने सबै सरोकारवाला र क्षेत्रले भोग्नुपर्ने नोक्सानलाई अध्ययनमा समेटेको सापकोटाले बताए । सहरका ठुलादेखि पर्यटक आउजाउ गर्ने राजमार्गका होटल, रेस्टुरेन्ट, होमस्टे, गुफा, साहसिक पर्यटकीय प्रडक्ट, मनिचेन्जर, संरक्षण क्षेत्र र त्यहाँँका व्यावसायी, संग्रहालय, डुंगा, स्टिमर लगायतका क्षेत्रलाई पनि अध्ययन क्षेत्रमा समेटेको उनले बताए ।

‘गण्डकी प्रदेशका पर्यटनसँग सम्बन्धित सबै क्षेत्रको अध्ययन भईरहेको छ । यसले पर्यटनको अवस्था, लगानी, ऋण, नोक्सानी लगायतका आँकडालाई प्रष्ट्याउनेछ,’ सापकोटाले भने । ‘सतही रुपमा हेर्दा पर्यटनमा ठुला पुर्वाधारको मात्र चर्चा हुने भएपनि अहिले पर्यटनमा नदेखिनेगरि योगदान दिने राजमार्गका होटल तथा रेस्टुराँको अवस्थालाई पनि अध्ययन गरेर केहीदिनमा अन्तिम प्रतिवेदन ल्याउने तयारी भईरहेको सापकोटाले बताए ।

‘कोरोनाले ती क्षेत्रलाई पनि असर पारेको छ, जसको योगदान पर्यटनमा नदेखिनेगरि छ,’ उनले भने । लकडाउन सुरु भएपछि थालिएको अध्ययनको अन्तिम प्रतिवेदन तयार पार्ने र व्यावसायिक क्षेत्रले बेहोरेको घाटा पूर्ति गर्न आवश्यक पर्ने पहलबारे पनि सरकारलाई दवाव दिन सहज हुने उनले बताए ।

समितिका संयोजक जुद्ध गुरुङले होटल, रेस्टुरेन्ट, ट्राभल, मनिचेन्जर, साहसिक गतिविधि, संरक्षण क्षेत्र, होमस्टे, गुफा लगायत पर्यटनसँग सम्बन्धित सबै क्षेत्रमा कोरोना संक्रमणले पु¥याएको क्षति, भएको लगानी, तिर्नुपर्ने ऋणबारे अध्ययन भईरहेको बताए । ‘पर्यटक नआएको खण्डमा नचल्ने ती व्यापारको अवस्था अध्ययन गर्दैछौ । ठुलो नोक्सान पर्यटन आवद्ध क्षेत्रले भोगेका छन,’ गुरुङले भने, ‘बाहिरबाट झट्ट हेर्दा ठुला व्यावसायी र क्षेत्रको मात्र चर्चा हुन्छ । तर, पर्यटन आवद्ध तल्लो वर्गको अवस्था झनै नाजुक छ ।’

उनका अनुसार प्रदेशभित्र संचालित सानाठुला होटल, रेस्टुरेन्ट, ट्रेकिङ, होमस्टे, राजमार्गका होटल, रेस्टुँरा, साहसिक पर्यटनका प्याराग्लाइडिङ, जिप फ्लायर, बञ्जी, अल्ट्रालाइट देखि अन्नपूर्ण र मनास्लु संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष क्षेत्रको पर्यटनबारे पनि अध्ययन भईरहेको छ । त्यस्तै पोखराका संग्रहालय, तालमा पाहुना सयर गराउने डुंगा, कालिगण्डकीको स्टिमर, र्याफ्टिङ लगायतको अध्ययन भईरहेको उनले बताए ।

‘बाहिरबाट हेर्दा सामान्य लाग्न सक्छ, तर गुफादेखि डुंगा र संग्रहालयले पनि नोक्सान खेपेका छन,’ उनले भने, ‘पर्यटकीय गन्तव्यबाट कमाएको रकमले चल्ने निकायलाई पनि समस्या छ ।’ फेवातालका ७६१, बेगनासका २५८ डुंगादेखि कालिगण्डकीका ११ वटा स्टिरमरको घाटा पनि यसमा समेटिने उनले बताए ।

त्यसबाहेक गण्डकी प्रदेशभित्रका ७ सय होटल सहित पोखरा विमानस्थलको नोक्सानी पनि समेटिएको छ । वर्षको ७ लाख बढी यात्रु आउजाउ गर्ने विमानस्थल दुईमहिना बन्द हुँदा एकअर्ब बढी नोक्सानमा रहेको पनि समितिले बताएको छ । मनकामना केवलकार, पर्वतारोहण, ३४१ होमस्टेको घाटा पनि समावेश गरिने समिति संयोजक गुरुङले बताए । अघिल्लो वर्ष प्रदेशका ती होमस्टेमा झन्डै एकलाख पाहुना पुगेका थिए । अहिले ती होमस्टे पनि पाहुनाविहीन भएका छन् । ठुलो नोक्सान खेप्नेमा राजमार्ग छेउमा संचालित झन्डै आठहजार होटल रहेको पनि उनले बताए ।

‘राजमार्गका ती होटलमा ५ लाखदेखि साढे ३ करोड रुपैयाँसम्म लगानी गरेका छन,’ उनले भने, ‘ती होटलका संचालक, कार्यरत कामदार, उनीहरुको नोक्सान पनि पर्यटनमा जोडिनेछ । कुनै न कुनै रुपमा ती पुर्वाधारले पर्यटनमा योगदान दिएका छन् ।’ पर्यटनले कोरोनकै कारण कतिसम्म नोक्सान गरेको रहेछ भन्ने थाहा पाएमा मात्र सहयोगका कार्यक्रम ल्याउन सकिने उनले बताए । ‘भूकम्प र नाकाबन्दीले त आन्तरिक समस्या मात्र निम्त्याएको थियो । तर अहिले पर्यटक आउने मुख्य श्रोत (देश) नै प्रभावित छन,’ उनले भने, ‘त्यसैले पर्यटन तुरुन्तै उग्रिने अवस्थामा छैन ।’

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकीका अध्यक्ष नवराज अधिकारी पर्यटनमा ठुला सहर र घरानाको मात्र नभई तल्लो वर्गको पनि योगदान रहेको र ती झनै मर्कामा रहेको बताँउछन् । ‘ऋण लिएरै कतिपय समुदायले होमस्टे चलाएका छन् । समुदाय नै बचाउन सकिएन भने पर्यटनमा योगदान दिएका ती होमस्टे सधैंका लागि बिस्थापित हुनेछन,’ अधिकारीले भने, ‘होमस्टे आन्तरिक पर्यटनबाट चल्ने हो । त्यसैले आन्तरिक पर्यटकका लागि प्याकेज ल्याउने हो भने बल्ल होमस्टे चल्नेछन् । तर, अहिले समुदायले कमाउने अवस्था नै रहेको छैन ।’

यो बेला पर्यटन क्षेत्रका सबैको समस्या सुनिदिनुपर्ने उनले बताए । ‘जहिले पनि ठुलै व्यावसायीको कुरा सुनिन्छ । साना व्यवसायी बाच्न सकेनन भने ठुला व्यावसायी पनि फस्टाउन सक्दैनन,’ अधिकारीले भने, ‘पर्यटनमा अब्बल ८–१० जना व्यावसायी बाँचेर गण्डकी प्रदेश मात्र बाच्दैन ।

त्यसैले तल्लो तहलाई पनि समेट्नुपर्छ । तल्लो वर्गलाई समेट्ने खालका प्याकेज ल्याउनुपर्छ ।’ सरकारले होमस्टेलाई बचाउन सकेन भने अघिल्लो वर्ष अनुदान स्वरुप दिएको ३० करोड रुपैयाँ समेत सधैंका लागि घाटामा जाने भएकोले तल्लो वर्गको संरक्षण आवश्यक छ ।’