कोभिड-१९ को असर, चुनौती तथा अवसर

सुरेश सापकोटा

पोखरा १३, कास्की

विश्वव्यापी रुपमा फैलिरहेको COVID-19, अर्थात् कोरोना भाइरसले अहिले संसारलाई नै एक प्रकारको भयावित वातावरण सृजना गराईरहेको छ । विभिन्न विकसित तथा ठुला राष्ट्रहरु यसको चपेटामा परिरहंदा नेपाल जस्तो विकासोन्मुख देश यसको चपेटामा पर्नु स्वभाविक नै हो ।  वि.स. २०७२ सालको विनासकारी भुकम्प तथा नाकवन्दीले थलिएर केही पर धकेलिएको नेपालको विकास कार्य तथा केही प्रतिशत जनतालाई पनि गरिबीको रेखामुनि यसले धकेलेको थियो र अहिले हामि COVID-19 को सामना गरिरहेका छौं ।

COVID-19 को अहिलेसम्म कुनै उपचार तथा औषधि र भ्याक्सिनहरु आविस्कार नभएको यस अवस्थामा यसबाट बच्नको लागि हालको लागि लकडाउन नै उत्तम विकल्प भएको, विश्व स्वास्थ्य संगठन (WHO) तथा यसको चपेटामा परेका प्रमूख राष्ट्रहरुले बताईसकेका छन् । यसै अनुरुप नेपालमा पनि लकडाउन लागु गरीयो । COVID-19 बाट बच्नको लागि नेपाल जस्तो राष्ट्रमा पनि लकडाउन उचित विकल्प त पक्कै पनि हुनेछ, तर यसबाट पर्न जाने असरहरु बारे के हाम्रो नेपाल सरकार तथा हामी जनताहरु सजग छौं त ? वि.स.२०७२ को विनासकारी भुकम्प तथा नाकाबन्दी बाट पनि हामीले धेरै कुराहरुको पाठ सिकेका थियौं तर के त्यो सिकेको पाठहरु हामीले लागु गर्न सक्यौं त ? आउनुहोस COVID-19 को असर, चुनौती तथा अवसरहरु बारे केही चर्चा गरौं ।

असर तथा चुनौतिहरु :

  • नेपालको अर्थतन्त्रमा झन्डै ३० प्रतिशत योगदान रहेको वैदेशीक रेमिट्यान्स अब धरापमा पर्ने देखिन्छ, विभिन्न अर्थविदहरुले पनि आंकलन गरिसकेका छन् की अब करिब १० लाख नेपालीहरु स्वदेश फिर्ता भई बेरोजगार तर्फ उन्मुख हुनेछन ।
  • त्यस्तै गरि आम्दानीको अर्को प्रमुख स्रोत रहेको पर्यटन व्यवसाय पनि अबको केही समय धरापमा नै पर्ने आंकलन गर्न सकिन्छ, नेपाल सरकारले मनाउन लागेको पर्यटन वर्ष २०२० लाई त अझ हामीले COVID-19 कै कारण स्थगित गर्नुपरेको छ । यसबाट पर्यटन व्यवसायी तथा नेपालको अर्थतन्त्रमा पनि ठुलै असर पर्ने देखिन्छ ।
  • उद्योग तथा कलकारखनाको लागी आवश्यक पर्ने कच्चा पदार्थको लागि हाम्रो देश नेपाल आत्म निर्भर नरहेको कुरा त सबैलाइ थाहा नै छ । यसर्थ विदेशबाट आयातित कच्चा पदार्थबाट उद्योग सञ्चालन गर्नु पनि थप चुनौति नै हुनेछ ।
  • नेपालको शिक्षा क्षेत्रमा त यसको असरहरु हामीले प्रत्यक्ष देखीनै रहेका छौं । विद्यार्थीहरुको एस.ई.ई., +2 तथा अन्य प्रमुख परिक्षाहरु सञ्चालन हुन सकिरहेको अवस्था छैन । केही सिमीत विद्यालयहरुले अनलाईन कक्षा सञ्चालन गरेको भएपनि यसको पहुंच सबै क्षेत्रमा पुग्न सकेको छैन ।
  • देशका प्रमुख विकासका कार्ययोजना तथा निर्माणका कार्यहरु पनि केही पर धकेलिने अवस्था आइसकेको हुदा मुलुक विकासमा यसको असर पर्नेछ । विभिन्न ठुला हाईड्रोपावरहरु, पोखरा अन्तराष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजना, गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला, विभिन्न सिमेन्ट तथा रड उद्योगहरु आदी यसका उदाहरण हुन् ।
  • वैदेशीक शिक्षाका लागि भनेर विदेशीएका नेपाली विद्यार्थीहरु पनि यसको चपेटामा पर्ने देखिन्छ । उनिहरु पनि बेरोजगार भएर नेपाल फर्कनुपर्ने अवस्था सृजना हुन सक्दछ ।
  • अझै प्रत्यक्ष देखिने असरहरुको कुरा गर्नुपर्दा, यसरी नै लामो समयसम्म लकडाउन लम्बिदै जाने हो भने हामीले दैनिक उपभोग गर्ने खाद्यान्न, लत्ता कपडा, ग्यास, पेट्रोल, डिजेल आदी अभाव हुदै जांदा आफ्नो मुलुकको उत्पादनले धान्न नसकी विदेशबाट आयातित वस्तुमा निर्भर रहंदा भोकमरी जस्तो महामारीको समस्या समेत सृजना नहोला भन्न सकिन्न ।

अवसरहरुः

  • वैदेशिक रोजगारबाट फर्किएर बेरोजगार हुन सक्ने नेपालीहरुको संख्या प्रमुख समस्याको रुपमा देखा पर्न सक्दछ, तसर्थ राज्यले उनिहरुको लागि विषेश खालको प्याकेज ल्याउनुपर्दछ र उनिहरुले विदेशमा सिकेको ज्ञान तथा सिपको सदुपयोग गरी केही सकरात्मक कार्ययोजनाहरु ल्याउन सकिन्छ ।
  • कृषिमा आत्म निर्भर रहेको नेपालजस्तो मुलुकमा सरकारले जनताको लागि कृषि कार्यमा लाग्न प्रेरित तथा प्रोत्साहनको प्याकेज ल्याउन सकिन्छ । आजको युगमा पनि हलो, जुवा र कोदालो समातेर मात्रै कृषि कार्य गर्न सकिदैन तसर्थ कृषिमा आधुनिकीकरण गर्नुलाई सरकारले अबको प्रमुख प्राथमीकतामा राख्नुपर्ने हुन्छ । अहीलेको अवस्थामा हामी एउटा रसायनिक मल पर्याप्त मात्रामा उपलब्ध हुन नसकेर किसानहरुले चाहेको उत्पादन गर्न नसकेको अवस्था पनि छ यस्तो समस्याहरु समाधानतर्फ उन्मुख हुने हो भने कृषिमा हामी पुर्ण आत्म निर्भर हुनेछौ । हामीलाई आवश्यक खाद्यान्न यहींबाट नै पुर्याउन सकिन्छ ।
  • वि.स. २०७२ सालको विनासकारी भुकम्प तथा नाकावन्दी ताका हामीले महसुस गरेको प्रमुख समस्या भनेको पेट्रोल, डिजेल र ग्यासको नै रहेको थियो , यसमा हामी पुर्णतया छिमेकी राष्ट्र भारतको निर्भरमा छौं । तसर्थ सर्वप्रथम हामीले यसको विकल्प खोजी गर्नुपर्ने हुन्छ । करीब ८३००० मेगावाट विद्युत उत्पादनको क्षमता रहेको नेपालमा अहिलेसम्म हामीले ५ प्रतिशत पनि उत्पादन गर्न सकेका छैनौं । तसर्थ हाईड्रोपावरमा लगानी बढाउन सकिन्छ र पेट्रोल, डिजेल र ग्यासको सट्टा विद्युतबाट सञ्चालन हुने वस्तुहरु प्रयोगमा ल्याउन सकिन्छ । ईन्डक्सन चुल्हो तथा विद्युतबाट सञ्चालन हुने सवारीसाधनलाई अबका दिनहरुमा प्राथमिकतामा राख्नुपर्दछ । त्यस्तै गरि उद्योग तथा कलकारखाना सञ्चालनमा पनि विद्युतिय उपकरणलाई जोड दिनुपर्ने हुन्छ । यसै गरि उत्पादीत विद्युत बेचेर पनि मुलुकले आर्थीक आम्दानी गर्न सक्दछ । साथै हाम्रै मुलुकमा पनि कतिपय स्थानमा पेट्रोलियम पदार्थको लागि खानी अन्वेषण तथा खोजी कार्यको थालनी गर्नुपर्दछ । यति गर्न सकेमा पनि हामी छिमेकी राष्ट्र भारतसंग डराईरहनुपर्ने स्थितीको अन्त्य हुनेछ ।
  • पर्यटन व्यवसाय अबको केही समय धरापमा त पक्कै पर्ने छ तर पनि दिर्घकालिन रुपमा भने पर्यटकको प्रमुख गन्तव्यको रुपमा नेपाल लाई चिनाउन सकिनेछ । तत्कालको लागि भने हामीले आन्तरीक पर्यटनमा जोड दिन सक्दछौं । साथै बाह्य पर्यटक भविष्यमा भित्राउनको लागी विभिन्न परियोजनाहरु तथा विकासका कार्यहरु गर्नुपर्ने हुन्छ । सुचना तथा प्रविधी र सञ्चारका माध्यमहरु अझै वृहत रुपमा परिस्कृत गर्ने, गांउ गांउमा, होम स्टे तथा गुणस्तरीय होटलहरुमा जोड दिने, यातायात तथा हवाई पुर्वाधारहरु सबै क्षेत्रमा सहर्ष उपलब्ध गराउने, विभिन्न अन्तराष्ट्रिय विमानस्थल परीयोजनामा जोड दिने, नेपालको भौगोलीक अवस्थालाई मध्यनजर गर्दै केबलकार तथा रोप वे जस्ता माध्यमबाट पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ ।
  • हाम्रो नेपालको सैद्धान्तिक शिक्षा पद्धतीलाई व्यवहारीका पद्धतीमा लानुपर्ने अत्यन्त आवश्यक देखिन्छ ।  सुचना तथा प्रविधीको पर्याप्त प्रयोग आजको समयमा पनि सबै विद्यालयहरुमा अत्यन्त न्युन देखिरहेको छ । यसलाई सरकारले विशेष ध्यान दिएर यसको प्रयोग तथा व्यवहारीक शिक्षा, उत्पादनमुलक शिक्षामा विशेष जोड दिएर आगामी  दीनमा अगाडी बढ्न सकिन्छ ।
  • अहिलेको समयमा प्रमुख समस्याको रुपमा देखिएको नेपाल भारत सिमाको विवाद एकदमै चरम उत्कर्षमा रहेको छ, यस समस्याको समाधान अब स्थायी रुपमा नै खोज्नु पर्ने हुन्छ । यसको लागी उत्तम विकल्प भनेकै माथी उल्लेखीत बुंदाहरु पालना गरेर हामी सजिलै आत्म निर्भर हुन सक्नेछौं र सिमामा बोर्डर शिल्ड गरेर कांडेतार तथा जाली लगाएर सिमाना छुट्टाउन सकिन्छ र आवतजावतका लागि पासपोर्ट तथा भिषा लागु गर्न सकिन्छ । अनि मात्र आफ्नो स्वाधिनता र सार्वभौमसत्ताको रक्षाका लागि कसैसँग झुक्नु पर्ने आवश्यकता रहने छैन ।

सारांशमा भन्नु पर्दा माथी उल्लेखित सबै कुराहरु अहिेले तत्काल लागु गर्न नसकिएतापनि सम्भव भएका कुराहरुलाई यथाशिघ्र सुरुवात गर्न सकियो भनेपनि भविष्यमा आईपर्ने यस्ता, भुकम्प, नाकावन्दी, COVID-19 जस्ता प्राकृतिक विपत तथा महामारी पनि हामी सजिलै सामना गरेर अगाडी बढ्न सक्दछौं र मुलुकले पनि विकासमा गतिलो फड्को मार्नेछ र आमजनताको दिनचर्या पनि सकरात्मक रुपमा बदलिने छ ।