लकडाउनको समय सदुपयोग गर्दै संरक्षणमा साैरेली व्यवसायी

चितवनः सौराहाका पर्यटन व्यवसायी लकडाउनको समयको सदुपयोग गर्दै संरक्षण क्षेत्रमा जुटेका छन् । लामो समय लकडाउन हुँदा सौराहाका पर्यटन व्यवसायीहरु वन्यजन्तुको वासस्थान संरक्षणमा जुटेका हुन ।

उनीहरुले निकुञ्ज संग सहकार्य गरेर ९१ हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गरेका छन् । प्रकृति संरक्षण कोष, क्षेत्रीय रेवान, वमघमारा, चित्रसेन मध्यबर्ती सामुदायीक वन, जिप समिति, रत्ननगर नगरपालिका वडा नम्बर ६, ७ र बिभिन्न व्यक्तिहरुको सहयोगमा पर्यटन व्यवसायीहरुले घाँसेमैदान व्यवस्थापन गरेका हुन । उनीहरुले निकुञ्ज भित्र पर्ने पुरानो पदमपुरको क्षेत्रमा घाँसे मैदान व्यवस्थापन गरेका हुन ।
सौराहा हात्ती तथा जिप वुकिङ् सेन्टरका सचिब राममणी खनालका अनुसार निकुञ्जको पूर्बी क्षेत्रमा घाँसे मैदान व्यवस्थापनको काम गरिएको हो । मानव र वन्यजन्तु बिचको द्धन्द्ध अन्त्यका लागि यसले सहयोग पुग्ने उहाँको भनाई छ । पर्यटकको आवागमन नहुँदा पर्यटन व्यवसायीले संरक्षणमा काम गर्नु पर्ने भन्दै यो अभियान सुरु गरिएको उहाँले जानकारी दिनुभयो । रु ४ लाख ५८ हजारको लागतमा सो क्षेत्र व्यवस्थापन गरिएको हो ।
घाँसे मैदान संगै पोखरीको व्यवस्थापन गर्न सकेमा संरक्षणमा सकारात्मक प्रभाव पर्ने निजी संघ संस्था तथा व्यवसायीहरुको भनाई रहेको छ । घाँसे मैदान र पोखरीको व्यवस्थापनले वन्यजन्तु गाउँमा पस्न रोक्न सकीने छ । निकुञ्ज भित्रै घाँसे मैदान र पोखरी व्यवस्थापन गर्न सक्दा बन्यजन्तुहरु चरनका लागि बस्ती पस्दैनन् ।
निकुञ्जले यस चालु आर्थिक वर्षमा घाँसे मैदान र पोखरी व्यवस्थापनका लागि मात्रै रु ३ करोड ५० लाख खर्च गर्दै छ । सो रकमबाट १ सय हेक्टर पुरानो घाँसेमैदान र ६ सय हेक्टर नयाँ घाँसे मैदान व्यवस्थापन गर्दै छ । निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल घिमिरेका अनुसार पुरानो घाँसे मैदान व्यवस्थापनको काम सम्पन्न भई सकेको छ । नयाँ ३ सय हेक्टर सम्पन्न भई सकेको छ भने बाँकी व्यवस्थापनको काम भईरहेको उहाँले जानकारी दिनुभयो ।
घिमिरेका अनुसार घाँसे मैदान र पोखरी व्यवस्थापनको काम गर्न सके चोरी सिकारी नियन्त्रणमा ठूलो सहयोग पुग्ने छ । निकुञ्जको पूर्बी क्षेत्रमा मात्रै चारवटा ठूला तालहरु सहित ३५ वटा पोखरी निर्माण भईरहेको छ । निकुञ्जका सबै क्षेत्रमा गरेर अहिले ७५ वटा ताल तथा पोखरी निर्माण गरिदैं छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले पाँच वर्ष सम्म घाँसेमैदान व्यवस्थापनको कामलाई महाअभियानको रुपमा अघि वढाउन जरुरी रहेको वतानुभयो । अहिले निर्माण गरिएका घाँसे मैदानहरुको व्यवस्थित व्यवस्थापन गर्न सकेमा बन्यजन्तु बस्ती नपस्ने उहाँको भनाई छ । फडानी गरिएको स्थानमा नियमीत रुपमा पाँच वर्ष घाँसे मैदानको रुपमा राख्न सके बन्यजन्तुको चरन क्षेत्रको रुपमा बिकास भई संरक्षणमा समेत टेवा पुग्ने उहाँले बताउनुभयो ।
निकुञ्ज स्थापनाका समयमा २० हजार हेक्टर घाँसे मैदान भएको भए पनि घट्दै गएको पाईन्छ । रुपाखेतीका अनुसार अहिले १० हजार हेक्टर मात्र घाँसे मैदान रहेको र यसलाई व्यवस्थापन गर्न कठिन भएको छ । यस वर्षबाट उपकरण प्रयोग गरि घाँसे मैदान व्यवस्थापन सुरु गरिएको छ ।