राप्ती र नारायणी नदीबाट गोहीको अण्डा सङ्कलन

चितवन : राप्ती र नारायणी नदीबाट घडीयाल गोहीका नौवटा गुँडमा भएका अण्डा सङ्कलन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले करीब तीन सय अण्डा सङ्कलन गरी गोही प्रजनन केन्द्रमा बच्चा कोरल्नका लागि राखिएको जनाएको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार चैत महिनामा गोहीले अण्डा पार्ने गर्दछ । निकुञ्जले गत एक सातायता ती गुँडहरुबाट अण्डा सङ्कलन गर्न शुरु गरेको थियो । नदीहरुमा हालसम्म देखिएका नौवटा गँुड छाडिएको छ । खड्काले अन्य गुँडहरु पनि हुनसक्ने अनुमान गरिएको बताउनुभयो । हात्ती, गैँडा हिँड्ने क्षेत्र, पानी बग्ने ठाउँ जस्ता असुरक्षित ठाउँको अण्डा उठाइएको र अन्यन्त्र सुरक्षित स्थानको अण्डा छाडिएको उहाँको भनाइ छ ।

सङ्कलनका क्रममा एउटा गुँडमा २५ देखि ४७ वटासम्म अण्डा भेटिएको खड्काले जानकारी दिनुभयो । ती अण्डाबाट जेठको तेस्रो सातापछि बच्चा कोरलिन शुरु हुन्छ । प्रजनन केन्द्रमा हुर्काएका गोही नदीमा छाड्ने गरिएको छ । हालसम्म एक हजार ५१५ वटा गोही हुर्काएर विभिन्न नदीमा छाडी सकिएको छ ।

यस वर्ष राप्ती नदीमा ५० वटा गोही छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजीकै राप्ती नदीमा गोही छाडिएको हो । गत वर्ष सोही क्षेत्रबाट एक सयवटा गोही छाडिएको थियो ।विश्वबाट नै लोप हुन लागेको घडियाल गोहीलाई निकुञ्जको कसरामा रहेको प्रजनन केन्द्रमा हुर्काएर हरेक वर्ष नदीहरुमा छाड्ने गरिएको छ । नदीमा छाडिएकामध्ये राप्तीमा मात्र ८३५ गोही छाडिएको सहायक संरक्षण अधिकृत खड्काले जानकारी दिनुभयो ।

निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० वटा गोही छोडिसकिएको छ । पछिल्ला वर्षमा राप्तीमा मात्रै गोही छाडिने गरिएको छ । नदीहरुमा गोही छोड्दै गए पनि सङ्ख्या बढ्दै जान भने सकेको छैन । पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् ।

सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो । नदी प्रदूषण बन्दै जाँदा सङ्कटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ । हरेक वर्ष राप्ती र नारायणी नदी किनारबाट गोहीको अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ ।

तीनै गोहीलाई हुर्काएर नदीमा छोडिन्छ । पाँचदेखि छ वर्षसम्मका गोही नदीमा छाड्ने गरिन्छ । हाल प्रजनन केन्द्रमा माउ र बच्चाहरु गरेर पाँच सय हाराहारी रहेको खड्काको भनाइ छ ।