अहिलेको समय सन्दर्भ र नेपालका बालबालिका

सुशिला कुमारी बराल : सन् २०१९ को अन्तमा चिनको वुहान शहरबाट शुरु भएको नयाँ कोरोना भाईरसले अहिले विश्वलाई नै आक्रान्त पारिरहेको छ। संसारका अति व्यस्त शहरहरु लकडाउनले सुनसान भएका छन्। विश्वकै भविष्य आफ्नो हातमा रहेको भन्दै आफुलाई तथाकथित शक्तिशाली मान्ने मुलुकहरु अहिले आफ्नै देशका बिरामी जनताहरुको उपचार गर्न नसक्ने अवस्थामा पुगेका छन्।

स्कुल–कलेज, उद्योगधन्दा, कलकारखानाहरु बन्द हुन पुगेका छन्। अत्यावश्यक सामग्रीका पसलहरु बाहेक सबै बजारहरु बन्द रहेका छन् भने मानिसहरुलाई घर बाहिर निस्कन समेत प्रतिबन्ध लगाईएको छ। कोभिड-१९(COVID-19) नाम दिईएको यस रोगले विज्ञान तथा प्रविधिका नयाँ नयाँ आविष्कारहरुलाई समेत चुनौती दिइरहेको सन्दर्भमा नेपालका बालबालिकाहरु समेत यसबाट अछुतो रहने कुरै भएन्।

स्कुले बालबालिकाहरु हतारमा शैक्षिक सत्रको परीक्षा समाप्त गरी घरमा छन् भने SEE तथा एघार बाह्र कक्षाका विद्यार्थीहरु देशमा कोभिड-१९ को असर फैलिन नदिन सरकारद्वारा जारी Lockdown ले परिक्षा स्थगित भएकाले Lockdown खुल्ने र स्थगित परिक्षा सञ्चालन हुने पर्खाईमा रहेका छन्।

कोभिड-१९ को असर दिनदिनै घट्नुको सट्टा विश्वमा नै झन् बढिरहेको तथा नेपालको खुला सिमाना भएको छिमेकी मुलुक भारतमा यसको प्रभाव आक्रामक तरिकाले बढिरहेको छ। यस सन्दर्भमा विद्यमान Lockdown खुल्ने तथा वातावरण पहिलेको झैं सामान्य हुन लाग्ने समयको अन्यौलता अझ बढेको देखिन्छ। तसर्थ यस समयमा बालबालिकाहरुमा पनि पढाईको बारेमा कुनै चिन्ता नभएको अवस्था छ। पारिवारिक माहौल पनि परिवर्तित छ। घरमा आफ्ना आमाबुवाको साथ साँझ बिहान मात्र पाउने बालबालिकाहरु अहिले सम्पूर्ण समय उनीहरुसँग बिताईरहेका छन्।

खेल खेल्न तथा चकचक गर्न मन पराउने उनीहरुलाई दुरुत्साहन गर्दै पढाईको प्रतिस्पर्धालाई प्राथमिकता दिन दबाब दिने अभिभावक आज आफैं उनीहरुसँग विभिन्न किसिमका खेलहरु खेल्दै समय बिताईरहेका छन्। घरमा बनेका ताजा खानेकुरा परिवारसँगै बसेर खानुभन्दा होटल तथा रेष्टुरेण्टमा गएर स्वादका लागि विभिन्न किसिमका परिकारहरु खाने तथा जंकफुडहरुमा रमाउने बानी परेका परिवारका सदस्यहरु आज घरमा नै सीमित भई घरमै बनेका खानेकुरामा चित्त बुझाईरहेका छन्।

अन्यौलयुक्त समय रहेकोले निकट भविष्यको केही थप समयको लागि प्रयाप्त खानेकुराहरुको जोहो गर्नमा लागेका छन्। बालबालिकाहरुको लागि घर जस्तो राम्रो शिक्षालय तथा आमाबुवा जस्ता राम्रा गुरु कोही हुन सक्दैन्। तसर्थ आजको यस समयको पारिवारिक माहोलबाट आजका बालबालिकाहरुलाई पारिवारिक संस्कार सिक्ने सुअवसर मिलेको छ।

त्यसैले सम्पूर्ण अभिभावक तथा बालबालिकाहरुले यस समयलाई एक अर्कालाई बुझ्ने, अरुको भावनको कदर गर्ने, जीवनको यात्रामा आफूले भोगेका विभिन्न तितामिठा अनुभवहरु आदानप्रदान गर्ने तथा आपसमा विश्वासिलो साथीको रुपमा सम्बन्ध स्थापित गर्ने तर्फ लाग्नु उचित हुन्छ। यसो गर्न सके भविष्यमा परिवारमा आउन सक्ने असमझदारीहरु सिर्जना हुनै नपाई सुखद पारिवारिक सम्बन्ध स्थापित हुनसक्ने देखिन्छ। आजको बालबालिकाको लागि अत्यावश्यक रुपमा रहेको व्यवहारिक शिक्षाको विकास गर्न यो समय अत्यन्त उपयोगी हुन सक्छ।

हाम्रो महत्वाकांक्षी तथा प्रतिस्पर्धात्मक शिक्षाको वातावरणले बालबालिकाहरुमा शिक्षक तथा विद्यालय व्यवस्थापन प्रतिको डर, त्रास तथा साथीहरुसँगको इर्ष्या जस्ता भावनाहरु विद्यमान छन्। यस्ता कुराहरुले सिर्जीत नकारात्मक भावनाहरुबाट पर निष्फिक्री रही परिवारसँग मात्र बितिरहेको अहिलेको यो क्षणबाट उनीहरुको आत्मविश्वास बढ्ने देखिन्छ। आज बिताएका यी पलहरुले उनीहरुलाई भोलिका दिनहरुमा जीवनका उकाली ओरालीहरु सहज ढंगले वारपार गर्न मद्दत मिल्नेछ।

आज सिकेका पारिवारिक संस्कारको महत्वले उनीहरुलाई भविष्यमा गुणात्मक जीवनप्रतिको धारणा विकास गर्न सहयोग पुग्नेछ। परिवारका वरिष्ठ सदस्यहरुको जीवनको भोगाईका क्रममा गरेका संघर्ष तथा वीरताका अनुभवहरुबाट बालबालिकामा जुनसुकै परिस्थितिसँग जुध्न सक्ने आँट प्रदान हुनेछ। सम्पति, शक्ति र विलासिताप्रतिको आशक्ती असल व्यक्तिका लागि बाधक हुन् भन्ने ज्ञान आज सम्पूर्ण बालबालिकालाई आवश्यक छ। सफलताको परिभाषाको पुनर्मूल्यांकन हुन आजको समयमा अत्यावश्यक भईसकेको छ जुन असल पारिवारिक संस्कारबाटमात्र सम्भव छ।

समयको यो महत्वलाई बुझी परिवारका हरेक सदस्यले आफ्नो आफ्नो तर्फबाट एक अर्काको हरेक गतिविधिहरुमा माया, साथ र विश्वासको वातावरणलाई कायम राखी पारिवारिक संस्कारको महत्वलाई प्रोत्साहित गरौं। हरेक अभिभावकले शक्ति, प्रतिस्पर्धा, मोह, इर्ष्या जस्ता आजका बालबालिकाका प्राकृतिक वृद्धिका मुख्य बाधक तत्वबाट उनीहरुलाई जोगाउन आफुहरु पनि यसबाट बच्ने कोशिश गरौं।

यो पुस्ताका बालबालिकाहरुको लागि यो समय स्वर्णिम समय हुन सक्छ। तसर्थ यो समयबाट पाठ सिक्दै हरेक शिक्षालयहरुले व्यवहारिक शिक्षाको महत्वलाई प्राथमिकता दिंदै आजका बालबालिकाहरुलाई समय तथा स्थानको आवश्यकता अनुसारको शिक्षा प्रदान गरुन्। पूर्वीय सभ्यतामा हुर्किएका हामी हाम्रा बालबालिकाहरुलाई पनि यस सभ्यतालाई बुझ्ने र जान्ने अवसर प्रदान गरौं।

हाम्रा अत्यधिक महत्वाकांक्षाले उनीहरुलाई पश्चिमा संस्कृतिमा रम्न बाध्य नपारौं। सदियौंदेखि भन्दै आईरहेको कृषिप्रधान हाम्रो मुलुकका भावी पुस्तालाई कृषि क्षेत्रको विकास र विस्तार गर्न प्रोत्साहन गरौं। उनीहरुलाई स्वावलम्वी बन्न उत्प्रेरित गरौं। देशको आजको आवश्यकतालाई सही रुपमा मनन् गर्दै हाम्रा भावी पिढींलाई त्यसतर्फ अग्रसर गराउँ। अझैपनि उपयुक्त समय हामीबाट टाढा गईसकेको छैन। समय हाम्रो सही निर्णयको प्रतिक्षामा छ। २०७६।१२।३० कपन।