‘काठमाडौंदेखि इटहरीसम्मको त्यो पीडादायी पैदल यात्रा’

सुमन पुरी , विराटनगर : ‘दुवै खुट्टा सुनिएका छन्। देव्रे खुट्टाको पैताला टेक्नै नहुने गरी दुख्न थालेपछि व्याण्डेज लगाउन परेको छ। पिँडुला कट्कटी दुख्छ। जीउ मान्छेले कुट्दा कुट्दा गरेजस्तो थिलथिलो भएको महसुस हुन्छ। गर्दन् ढाड बेस्सरी दुख्छ।
आँखा छिनछिनमा तिरमिर हुन्छ,’ लकडाउनका बेला काठमाडौंबाट हिँड्दै इटहरीसम्म आइपुगेका सुरज लिम्बु आफ्नो शारीरिक अवस्था बताँउदै गर्दा बेला-बेला भने हाँस्छन्।

उनी काठमाडौं बस्दाका दुःख, बाटोमा भोग्नुपरेको पीडा बिर्सिएर हाँस्नुको एउटै कारण छ। उनी अहिले इटहरीमा दाजुको घरमा आइपुगेका छन्। अब बाँचिन्छ भन्ने आशा छ उनीमा। त्योभन्दा पनि ठूलो अब एकैदिनमा हिँडेरै घर पुगिन्छ भन्ने विश्वास पनि।

धनकुटाको साँगुरी गढी गाँउपालिका वडा नम्बर २ का सुरज लिम्बुले कोरोना संकटका कारण लकडाउन भएपछि काठमाडौंदेखि इटहरीसम्मको दूरी पार गरे। दक्षिणकाली, भिमफेदी फर्पिङ्ग हेटौंडा ६७ किलोमिटर उनलाई पार गर्न एक दिन लाग्यो। हेटौंडा, चन्द्रनिगाहपुर, बर्दीबास लहान हुँदै इटहरीको ३ सय ९ किलोमिटर दूरी पार गर्न उनलाई थप तीन दिन लाग्यो।

संयोग यो लकडाउनका बेला पनि उनले लिफ्ट पाए। सडकमा ड्युटीमा खटिएको प्रहरीले नै अत्यावश्यक सेवामा हिँडेका गाडी रोकेर उनलाई चढाइदिए।

सडकमा ड्युटीमा खटिएका प्रहरीलाई गरिएको अनुनय बिनयले मन पग्लिएपछि ट्राफिक प्रहरीले समेत गाडी रोकेर उनलाई चढाइदिए। यस्ता गाडी छोटो दूरीका थिए। उनी सम्झन्छन् काठमाडौंदेखि इटहरीसम्म आइपुग्दा ४ वटा गाडी चढे। अन्दाजी एक सय किलोमिटर जति दयालुहरुले लिप्फ्ट दिएर बाटो कटाइदिए।

काठमाडौं छाड्ने बाध्यता
सुरज लिम्बु गएको पुषमा धनकुटाबाट काठमाडौं गए। उनी बेला बेला घर छाडेर काठमाडौं जान्छन्। दुई चार महिना काम गर्छन्। अलि अलि पैसा कमाएर फेरि घर फर्किन्छन्। यसपटक भने उनले रोड बनाउने काम पाए। उनीसहित भोजपुर चम्पे अरुण गाँउपालिकाका संगीन राई र रोशन राई भत्तपुरको बालकुमारीमा डेरा गरि बस्थे। काम पनि एकै ठाँउ।

काम राम्रै चलिरहेको थियो। तर कोभिड १९ महामारीको संकट आएपछि सरकारले चैत्र ११ गतेबाट लक डाउन गर्‍यो। उनको काम बन्द भयो। घर फर्किनका लागि गाडी पनि भएन।

सुरुमा ठेकेदारले खानेकुराको व्यवस्था गरे। ठेकदेराले भनेका थिए २५ गतेदेखि काम सुरु हुन्छ। उनी त्यही आशामा बसे। गोजीमा भएको पैसा पनि सकियो। २५ गते पनि लकडाउन खुल्ने छाँट नदेखिएपछि ठेकेदारले भने अब म पाल्न सक्दिन तिमीहरु आफ्नो बाटो लाग्नु।

सुरजसहित तीन जनाले काम गरेको पैसा मागे। तर ठेकेदारले बैंकबाट पैसा झिक्न नपाएको भन्दै बाटो खर्च हुन्छ भन्दै जनही २ हजार रुपैयाँ थमाए। काठमाडौंमा आफन्त कोही थिएन।

यहाँ त झन् भोकैले मरिन्छ भन्ने लागेर जे पर्छ-पर्छ हिँडेर जाँउ भन्ने विचार गरे। साथीहरुसँग सल्लाह गरे उनीहरुले पनि सहमति जनाए। साथमा बारा, पर्सा, सिराह, सप्तरी र हेटौंडाका मजदुर पनि थपिए।

त्यसपछि चैत २४ गते विहानको रात काठमाडौं छाडे। हेटौंडाका घर भएका साथीले भने छोटो बाटो छ सँगै जाँउ। त्यसपछि उनीहरुले दक्षिणकाली कुलेखानी हुँदै हेटौंडाको बाटो लागे।

बाटोको भुक्तमान
हिँड्न त हिँडियो तर सोचेजस्तो सहज भएन। उनले सुनाए,‘काठमाडौंबाट हिँडेको दिन हेटौँडा आइपुगे।’ गोजीमा अलि अलि पैसा थियो। किनेर खान त पाइन्छ भन्ने लागेको थियो। हेटौंडामा आधा खोलेका सटरभित्रको होटलमा मानिसहरु खाइपिइ गरिरहेका थिए। सुरजले भने,‘ हामीले खानेकुरा सोध्दा होटलको सटर झारियो।’

खान नपाएर थकाइ मार्न पसलको पेटीमा के बसेको थिएँ, घरबेटीले माथिबाटै पानी खन्याइदिए। ‘कहाँबाट आएका हौं? कोरोना सार्नलाई पेटीमा नसुत।’ त्यसपछि उनीहरु सडकमै सुते।

चैतको घाममा हिँडिरहँदा कतिपय स्थानमा मानिसहरुले कलको पानी पेलेर खान पनि नदिएको उनले बताए। कोही भने मनकारी र दयालु पनि भेटिए। सुरज लिम्बु भन्छन्, ‘चिउरा, चाउचाउ र बिस्कुटको भरमा ४ दिन बिताइयो। चाउचाउ र बिस्कुट खाइहँदा चाउमिन र ममको खुब याद आयो। ’

‘भात खान पाइँदैन भन्ने त पहिले नै लागेको थियो। खाजासम्म त खान पाइएला भन्ने थियो,’ उनी सम्झिन्छन्। उनलाई बेला बेला बाटामा लिफ्ट दिने र गाडी रोकिदिनेको सम्झना अहिले पनि आइरहेको छ, सँगै बरमझियामा रातभरि सशस्त्र प्रहरीले थुनेको पनि। उनका अनुसार एउटा बोलेरमा उनीसहित तीन जनाले लिप्फ्ट पाए।

ट्राफिक प्रहरीले नै उनीहरुलाई लहान नजिकै चढाइदिएका थिए। बरमझियामा आएपछि चेक जाँचमा रोकियो। ‘न जान दिइयो, न गाडीबाट उत्रन नै,’ उनी सम्झन्छन्, ‘कोरोना सर्ने भन्दै झ्याल पनि खोल्न नदिइ ६ घण्टा बोलेरोमै थुनियो।