इच्छाकामना गाउँपालिकाद्वारा अग्निपिडितलाई राहत प्रदान

तुन्तेस : चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिकाका अग्नि पिडितलाई राहत प्रदान गरेको छ। गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङ आफै आज पिडित कहाँ पुगेर राहत प्रदान गरेको हो।
गाउँपालिकाले राहत स्वरुप उपलब्ध गराएको सामाग्रीहरुमा खाद्यान्न सामाग्रीहरुका साथै रेडक्रस सोसाईटीको तर्फबाट त्रिपाल, भाडाकुडा र लत्ताकपडाहरु रहेका थिए। तत्कालका लागि आवश्यक खाद्यान्न, लत्ताकपडा उपलब्ध गराएको र पछि पिडितको घर निर्माणको लागि सामाग्री पनि उपलब्ध गराइने गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले पिडितलाई आश्वासन दिनुभयो।
हिजो शनिबार इच्छाकामना ६ तुन्तेसका स्थानीय कुल बहादुर घर्ती र चन्द्र बहादुर घर्तीको घर आगलागीमा परि नष्ट भएको थियो।
आगलागीमा परि मानवीय क्षति नभए पनि भुकम्प पुनःनिर्माण मार्फत बनेको एउटा नयाँ घर र अर्को पुरानो घर गरि दुई वटा घरका साथै घरमा भएका अन्न, लत्ताकपडा सबै जलेर नष्ट भएका थिए। पिडितका अनुसार सोलारको व्याट्रि पड्केर हिजो दिउँसो करिब पौने ४ बजेतिर आगलागी भएको हो।
पिडितद्वयलाई राहत प्रदानका लागि गाउँपालिका अध्यक्ष सहित वडा नं. ६ का वडाध्यक्ष भुपेन्द्र चेपाङ, नेपाल रेडक्रस सोसाइटि चितवनका सदस्य राम बहादुर लामा, नेपाली कांग्रेसका जिल्ला सदस्य विष्णु कुवर पुगेका थिए।

Comments are closed.