भारतमा कोरोना संक्रमितको संख्या ९१८ पुग्यो

नयाँ दिल्ली । भारतमा नोभेल कोरोना भाइरसबाट ९१८ जना संक्रमित भएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले शनिबारसम्म भारतभर कोरोना संक्रमितको संख्या ९१८ पुगेको जानकारी गराएका हुन् ।

मन्त्रालयले शनिबार भनेको छ, “भारतमा ९१८ जम्मा संक्रमितमध्ये सक्रिय संक्रमित ८१९ छन् । ७९ जनाको उपचार गरेर अस्पतालबाट डिस्चार्ज गरिएको छ । हालसम्म १९ जना संक्रमितको मृत्यु भएको छ । जसमध्ये एक जना मुलुकबाहिरको रहेको छ ।”

हालसम्म १५ लाख २४ हजार २६६ जनाको विमानस्थलमा स्क्रिनिङ गरिएको मन्त्रालयले जनाएको छ ।

मंगलबार देशभर २१ दिन लामो लकडाउन घोषणा गरेका प्रधानमन्त्री मोदीले शनिबार नागरिक सहायता र राहत कोष स्थापना गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले सामाजिन दूरी कायम गर्न, आफू संक्रमणबाट बच्‍न र अरुलाई संक्रमणबाट बचाउन नागरिकले महत्वपूर्ण भूमिका खेलेकोसमेत बताएका छन् । – एएनआई

Comments are closed.